पुस्तक अभाव नहोस्



वैशाख २ गतेबाट नयाँ शैक्षिक सत्र शुरु हुन्छ । सरकारले विद्यार्थी भर्नासँगै सबै विद्यार्थीको हातहातमा नयाँ पाठ्यपुस्तक पु¥याउने प्रण गरिसकेको छ । एक साताअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पदभार ग्रहण गरेका मन्त्री अशोककुमार राईले समयमै पाठ्यपुस्तक पु¥याउन निर्देशन दिनुभएको छ । गत आइतबार पाठ्यपुस्तकको अवस्थाबारे जानकारी लिन सानोठिमीस्थित जनक शिक्षा पुग्नुभएका उहाँले पुस्तक अभाव हुन नदिन सबैको ध्यानाकर्षण गराउनुभएको थियो ।

हुन त जनक शिक्षाले चार महिनादेखि रफ्तारमा पाठ्यपुस्तक छपाइ जारी राखेको छ । हालसम्मको परिणाम हेर्दा करिब ९६ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा गरेको छ । तथ्याङ्क अनुसार कक्षा ६ देखि १० सम्म १ करोड ५० लाख थान पाठ्यपुस्तक छाप्ने जिम्मेवारी उसको हो । हालसम्म १ करोड ४० लाख थान पुस्तक छपाइ सकिएको छ ।

बाँकी १० लाख पाठ्यपुस्तक यो महिनाभित्र पु¥याउने लक्ष्य रहेको जनक शिक्षाको भनाइ छ । जनक शिक्षाको मुख्यालय र आठ प्रादेशिक कार्यालयसहित १ हजार २ सय ६७ विक्रेताले पाठ्यपुस्तक बिक्री गर्नेछन् । प्रधानमन्त्री सचिवालयदेखि शिक्षामन्त्री र जनक शिक्षाका अध्यक्ष एवं शिक्षा सचिवसम्मलाई दैनिक तथ्याङ्क उपलब्ध गराएको जनक शिक्षाले यो वर्ष पुस्तक अभाव नहुने प्रस्ट पारेको छ ।

जनक शिक्षाले आज शुक्रबारदेखि ८ वटै प्रदेश कार्यालयबाट बिक्री खुला गर्ने भएको छ । जनक शिक्षाको सानोठिमीस्थित मुख्यालय, पोखरा, नेपालगन्ज, धनगढी, विराटनगर, भरतपुर, जनकपुर र सुर्खेतबाट पुस्तक ढुवानी र बिक्री गरिनेछ । जनक शिक्षाका प्रबन्ध सञ्चालक अनिलकुमार झाले चैत मसान्तभित्र सबै पाठ्यपुस्तक छपाइ पूरा गरी वैशाख १५ गतेसम्म सबै विद्यार्थीको हातहातमा पु¥याइने जनाउनुभएको छ । जनक शिक्षाले पहिलो चरणमा हिमाली, त्यसपछि पहाडी र अन्तिममा सुगम जिल्लाहरुमा पुस्तक बिक्री शुरु गर्नेछ ।

प्रधानमन्त्री सचिवालयदेखि राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले हरेक हप्ता बैठक बोलाएर आगामी शैक्षिक सत्र २०८० वैशाख २ गतेबाट सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउन निर्देशन दिएपछि जनकले द्रुत गतिमा पुस्तक छपाइ शुरु गरेको थियो । पाठ्यक्रम विकास केन्द्रले उपलब्ध गराएको प्रिन्ट रेडी कपी (पीआरसी)को आधारमा पुस्तक छपाइ हुन्छ ।

यस वर्ष कक्षा ५, ८ र १० मा नयाँ पुस्तक छपाइ भएको हो । कोभिड र कागज अभावको कारण विगत तीन वर्षदेखि पाठ्यपुस्तक छपाइ र ढुवानी हुन सकेको थिएन । यो वर्ष समयमै कागज आइपुगेको कारण पुस्तक छपाइमा समस्या नभएको सरकारको भनाइ छ ।

जनक शिक्षाले २४ सै घन्टा प्रेस सञ्चालन गरेको र सबै निकायको सहयोग एवं मेहनतको कारण समयमै पाठ्यपुस्तक छपाइ सकिएको जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्रको लागि निजी क्षेत्रलाई कक्षा १–५ को पाठ्यपुस्तक छपाइ र बिक्री गर्ने जिम्मा दिइसकेको छ ।

पुस्तक छपाइ सकिए पनि सबै विद्यार्थीको हातहातमा पुस्तक पु¥याउने जिम्मा जनक शिक्षा, स्थानीय तह, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकको हुन्छ । पुस्तक अभाव हुन नदिन तीनवटै तहको मुख्य भूमिका रहन्छ । त्यसैले समयमै पाठ्यपुस्तक पु¥याउन सबै निकाय दत्तचित्त हुनुपर्छ । विगतमा जस्तो पाठ्यपुस्तक नपाएर परीक्षा दिन समस्या आएको विषय प्रचारमा आउनुहुँदैन ।

प्रतिक्रिया दिनुहोस्