कामपाको मनपरी- भताभुड्ड भवनमा सर्दै नसरी ३० लाख सकियो

0
Shares

–घरभाडा मासिक ६० लाख ५० हजार
–अझै एक महिना मर्मतमै लाग्ने
–सुन्धारा, बबरमहल, बिजुलीबजार, टेकु, हनुमानढोका, ताहाचल, जिल्ला समन्वय समिति गरी ७ स्थानमा विभाग

काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्झौता अध्ययन नै नगरी काठमाडौं प्लाजा बहालमा लिएपछि झण्डै १ करोड ५० लाख रुपियाँ खेर जाने भएको छ । नेपाल ट्रस्टको स्वामित्वमा रहेको काठमाडौं प्लाजा लथालिङ्ग अवस्थामै महानगरले १० वर्षको लागि भाडामा लिएको थियो । भवन बाहिरबाट हेर्दा भव्य भए पनि भित्र भताभुङ्ग अवस्थामा छ ।

भाडामा दिनुअघि घरधनीले चुस्त दुरुस्त अवस्थामा दिनुपर्ने भए तापनि कामपाले हतारमा मुख्यालय सार्ने भन्दै दुई साताअघि भाडामा लिएको थियो । सोही दिनदेखिको घरभाडा गणना गर्दा आजसम्म ३० लाख रुपियाँ खर्च भइसकेको छ । तर, हालसम्म महानगरपालिकाको कुनै पनि विभाग उक्त भवनमा सरेको छैन । जनताले तिरेको करबाट चलेको महानगरले हचुवाको भरमै २ महिनाको भाडा तिर्नुपर्ने देखिएको छ । कामपाले गत ९ गतेकै दिनबाट मासिक ६० लाख ५० हजार रुपियाँ तिर्नेगरी घर भाडामा लिने सम्झौता गरेको हो । सम्झौताअनुसार कामपाले १० वर्षमा करिब ८० करोड रुपियाँ तिर्नुपर्छ ।

काठमाडौं प्लाजा अवलोकन गर्न पुगेका एक उच्च कर्मचारीले नेपाल समाचारपत्रसँग भने– ‘केही दिनपछि सर्ने भनिएको भवनमा न लिफ्ट बनेको छ । न त नेटवर्किङ नै । बिजुलीको व्यवस्थापन हुन सकेको छैन । कसरी विद्युत्को व्यवस्थपन गर्ने ? अत्तोपत्तो छैन । शौचालयको अवस्था त्यस्तै छ । पानी कसरी व्यवस्थित गर्ने ? हामीले भवन हेर्दा ठूलो देख्यौ तर लथालिङ्ग अवस्थामा रहेछ । भवनको शौचालयमा छिर्ने हँुदैन, साह्रै दुर्गन्धित छ । त्यसलाई कसरी व्यवस्थापन गर्ने ? ठुलो समस्या छ । भवनको भित्ता हे¥यो, जताततै बिग्रिएको र भत्केको छ । उनका अनुसार यही अवस्थामा सबै विभाग सर्न कम्तीमा पनि ३ महिना लाग्ने देखिएको छ ।

कामपाका सूचना अधिकारी वसन्त आचार्यले २०७६ सालमा मन्त्रिपरिषद्को निर्णयअनुसार शुरूकै दिनदेखि भाडा तिर्नेगरी सम्झौता गरेको बताउनुभयो । तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको नेपाल ट्रस्टले काठमाडौं प्लाजा काठमाडौं महानगरपालिकालाई भाडामा दिने निर्णय गरेको थियो । आचार्यको भनाइअनुसार निर्णयमा चल्दै नचल्ने लिफ्ट नेपाल ट्रस्टले निर्माण गरी हस्तान्तरण गरेपछि मात्र सम्झौता गर्ने उल्लेख थियो । तर, सम्झौता गरेको दुई सातासम्म पनि लिफ्ट निर्माण हुन सकेको छैन ।

कुनै पनि निकायले आफ्नो घर भाडामा दिँदा पूर्णरूपमा तयार भएपछि मात्र देनदेन हुनुपर्ने मान्यता छ र तर कामपाले हतारमा करोडौं रुपियाँ खर्च गर्नेगरी उक्त भवन भाडामा लिएकोबारे प्रश्न गर्दा सूचना अधिकारी आचार्यले भन्नुभयो– ‘घर दिने निकायले सबै तयार गरेर कहाँ दिन्छ र ? त्यसमाथि मन्त्रिपरिषद्ले गरेको निर्णयका आधारमा भाडामा लिएका हौं ।’

सेवा अवरोध नगरी आफ्नो जिम्मेवारीमा रहेका विभागहरूलाई सार्दै जाने योजना रहेको भन्दै सम्झौता भएलगत्तै प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले मिसिल शाखा, सहकारी विभाग, जिल्ला समन्वय समितिमा रहेका विभाग तत्काल स्थानान्तरण गर्न निर्देशन दिनुभएको थियो । तर हिजो बुधबारसम्म कुन कार्यालय कसरी सार्ने ? भन्ने विषय अत्तोपत्तो थिएन । हामी विभागहरू सार्ने विषयमा छलफल गरिरहेका छौं ।

यद्यपि, विभागीय प्रमुखहरूलाई भाडामा लिएको भवनबारे जानकारी लिन पठाइरहेका जिकिर गर्दै सूचना अधिकारी आचार्यले भन्नुभयो– ‘केही दिनपछि नै केही विभागहरू काठमाडौं प्लाजामा स्थानान्तरण हुँदैछ ।’ कामपामा हाल १६ विभाग छन् ।

भवनभित्र यसअघि सञ्चालनमा रहेका निरमाया दोहारी र राजघराना रेस्टुरेन्ट शिलबन्दी गरिएको छ । ट्रस्टसँगको घरभाडा लेनदेन नमिलेपछि शिलबन्दी गरिएका क्षेत्र प्रयोगमा नआएसम्म महानगरले भाडा कटाउनेछ । सम्झौताअनुसार ५ वर्षपछि १० प्रतिशतले वहाल वृद्धि हुनेछ ।

करिब ५ रोपनी क्षेत्रफलमा निर्माण भएको भवन ७ तलाको छ । भवनको सबैभन्दा तल्लो तलामा ७० वटा चारपाङ्ग्रे र २ सयवटा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न मिल्ने बताइएको छ । १ लाख १६ हजार वर्गफिट पक्की भवन र ३ हजार ६ वर्गफिटको अस्थायी संरचनासहित प्लाजामा १ लाख १९ हजार वर्गफिट कार्यालय प्रयोगमा ल्याउन सकिन्छ ।

२०७२ सालको भूकम्पअघि महानगर बागदरबारमा थियो । भूकम्पपछि जीर्ण भएको वागदरबार पुनः निर्माण हुन सकेको छैन । कामपाले केही समय राष्ट्रिय सभागृहबाट सेवा सञ्चालन गरेको थियो । त्यसपछि सुन्धारामा रहेको जेडीए कम्प्लेक्सबाट सेवा सञ्चालन गरिरहेको छ । जेडीए भवनमा सबै विभाग नअटाएपछि विभागहरूलाई फरक फरक ठाउँमा राखिएको छ ।

कामपाका प्रमुख, उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृतको सचिवालय जेडीए कम्प्लेक्समा छन् । यस कम्प्लेक्समा वित्त, प्रशासन, कानुन तथा मानव अधिकार, आन्तरिक लेखा परीक्षण र खरिद एकाई रहेका छन् । बागदरबारमा महानगर प्रहरी बल, इजलास, कानुनसम्बन्धी सेवाहरू, ट्राफिक ब्यवस्थापन विज्ञको कार्यकक्ष, योजना अनुगमन तथा मूल्याङ्कन इकाइ छन् ।

टेकुमा वातावरण व्यवस्थापन विभाग र जग्गा एकीकरण आयोजनाका कार्यालय र मिसिल शाखा छन् । कृषि तथा पशुपंक्षी विभाग र शिक्षा विभाग ताहाचलमा छ । राजस्व, सार्वजनिक निर्माण र सहरी व्यवस्थापन विभाग बबरमहलमा छन् ।

सहकारी विभाग बिजुली बजारमा छ । सहरी योजना आयोगको कार्यालय थापाथलीमा छ । जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा स्वास्थ्य, सम्पदा तथा पर्यटन, विपद व्यवस्थापन, सामाजिक विकास विभाग, सार्वजनिक निजी साझेदारी एकाईलगायतका कार्यालय छन् ।

हनुमान ढोका दरबार संरक्षण कार्यालय वसन्तपुरमा छ । राष्ट्रिय सभागृह परिसरमा सूचना प्रविधि विभाग र जिन्सी शाखालगायतका संरचना छन् । यसरी छरिएर रहेका सबै संरचना र सेवालाई एउटै ठाउँमा ल्याएर सेवा प्रवाहलाई व्यवस्थित गर्न कामपाले काठमाडौं प्लाजा भाडामा लिएको हो ।