उफ् ! जताततै भ्रष्टाचारको जालो



-सागर पण्डित नेपाल समाचारपत्र दैनिकका सम्पादक हुनुहुन्छ ।

असी वर्षका छिमेकी काका भन्नुहुन्छ, ‘त्यो बेला देश कस्तो थियो अहिले कस्तो बनाए ।’ उहाँले ८० वर्षअघिको मुलुक स्मरण गर्दै भन्नुभयो, ‘धेरै शान्ति थियो, अनुशासन थियो, सुशासन थियो, सभ्य र सुसंस्कृत समाज थियो, वातावरण नै सधैँ उल्लासमय थियो ।’ काकाले स्मरण गर्दै र थप्दै जानुभयो, ‘एकले अर्कालाई छिर्के हान्ने, पाएसम्म सक्काइदिने, पैसाको लागि मरिहत्ते गर्ने, मार्ने, मराउने त्यस्तो केही थिएन । उफ् ! अहिले त के भएको हो के ?’ काका खुइय गर्दै चिन्तित देखिनुभयो । काकाको कुराले मलाई गम गरायो । मैले पनि थपेँ, ‘काका यो सबै भ्रष्टाचार र कुशासनको परिणाम हो ।’ काकाको अभिव्यक्ति किन र कसरी यस्तो आयो भन्ने कुराको अनुभूति मलाई थियो । त्यसैले मलाई काकाको कुराले खासै उद्वेलित बनाएन, बरु अहिलेका शासक–प्रशासकप्रति आक्रोश पैदा भयो । त्यो बेलाको देश र अहिलेको देश ! काकाकै कुरालाई विश्लेषण गर्ने हो भने, त्यो बेला स्वर्ग र अहिले नर्कजस्तै भएको देश । आखिर यो देशलाई यस्तो नर्कजस्तो कसले बनायो ? यसको जवाफ ३० वर्षदेखि शासन गर्दै आइरहेका विभिन्न राजनीतिक दल र तिनको नेतृत्वले दिनुपर्छ । राजनीतिक नेतृत्वलाई सहयोग गर्दै आइरहेको प्रशासनमा बस्नेहरुले दिनुपर्छ ।

काकाले गुनासो पोख्दै हुनुहुन्थ्यो, ‘त्यो बेला नेता कम थिए तर धेरै असल थिए । अहिले नेता धेरै छन्, अधिकांश खराब छन् ।’ लाग्यो काकाको यो अनुभूति साढे दुई करोड जनताको अनुभूति हो । जनता अहिलेका दल, तिनका नेता र शासकहरुको बोली–व्यवहारका कारण वाक्कदिक्क छन् । अहिलेका शासकहरु एकथोक बोल्छन्, व्यवहारमा ठीक उल्टो गर्छन् । उनीहरुलाई आमजनताले भोग्नुपरेका समस्यासँग कुनै सरोकार छैन । सत्ता र शक्तिको लागि गठबन्धन गर्छन् । भागवण्डा गर्छन् । आफ्ना आसेपासेलाई विभिन्न नियुक्ति दिन्छन् । राज्यशक्तिको दोहन गर्छन् । लुट मच्चाउँछन् । अहिले त्यस्तै भइरहेको छ । लुट प्रतियोगिता मच्चिरहेको छ । जसले सबैभन्दा बढी झुुट बोल्छ, अप्राकृतिक दाउपेच गर्छ, लुट मच्चाउँछ, उही नै राजनीतिमा सफल हुने अचम्मको प्रवृत्ति देखिएको छ । जनताको गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारीसम्बन्धी समस्या ती दल र नेताहरुका लागि कहिल्यै पनि प्राथमिकतामा पर्दैन । गठबन्धनका सयौं बैठकहरु बस्छन् तर ती बैठकमा आमजनतालाई कसरी राहत दिने ? जनताका समस्या कसरी समाधान गर्ने ? भन्ने विषयमा कहिल्यै पनि गम्भीरतापूर्वक छलफल हुँदैन । नेताहरुको यस्तो प्रवृत्तिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाविरुद्धमा छोटो समयमा नै विभिन्न खाले प्रश्न र टीकाटिप्पणीहरु उठ्न थालेका छन् । यो दल र तिनका नेताहरुको असफलताको उपज हो ।

हुन पनि काकाले त्यसै त्यस्तो अभिव्यक्ति दिनुभएको होइन । अहिले देश भ्रष्टाचारको जालोले ढाकिन पुगेको छ । सरकारी, सार्वजनिक तथा निजी क्षेत्रहरु भ्रष्टाचारको दलदलमा छन् । आज मुलुकमा भ्रष्टाचार र कुशासन यति धेरै मौलाइरहेको छ कि यसले मुलुकको विकास र समृद्धिको ढोका बन्द गराइदिएको छ । जनता शासकीय असफलताको अत्याचारले प्रताडित भइरहेका छन् । अब भ्रष्टाचार रोक्ने र भ्रष्टहरुलाई कालो कोठरीमा राख्न सक्ने हिम्मतिला शासकको आवश्यकता बढेर गएको छ । नत्र देश अझै खोक्रो भइरहने छ र जनताले थप दुःख भोगिरहनुपर्ने छ ।

चीनमा भ्रष्टाचारीलाई फाँसीको सजाय दिइन्छ । हामीकहाँ फाँसी नभए पनि भ्रष्टाचारीलाई जन्मकैद दिने र पूर्णरुपले सामाजिक बहिष्कार गर्ने खालका कानुनहरु बनाउन अब ढिलाइ गर्नुहुँदैन । हामीकहाँ जस्तासुकै हर्कत गरेर भने पनि पैसा आर्जन गर्ने व्यक्तिहरु पूजनीय भइरहेका छन् । समाजले त्यस्ता व्यक्तिलाई पुज्ने भन्दा पनि छिःछिः र दूरदूर गर्न सक्नुपर्छ ।

हामीकहाँ राजनीतिक दल र तिनका नेताहरुमा विचार, निष्ठा र सिद्धान्त स्खलित भइसकेको छ । जसका कारण राजनीति भ्रष्ट नीति बन्न पुगेको छ । भ्रष्ट नीतिका कारण मुलुक र मुलुकवासीले विभिन्न खाले दुःख–कष्ट व्यहोर्न बाध्य छन् । विकासमा गएको अर्बौं रकम हाकाहाकी भ्रष्टाचार हुँदा पनि कसैले कसैलाई कारबाही गर्दैन । कारबाही गर्ने निकायहरु नै सेटिङ धन्दामा चुर्लुम्म डुब्न पुग्छन् । घोर आश्चर्य के छ भने, विचार र सिद्धान्तमा मेल नखाने दलहरु पनि मिलेर लुट्न र स्वार्थसिद्ध गर्नका लागि एकजुट हुने गरेका छन् । मुलुकको विकास, जनताको हित र बाह्य देशसँग दरिलो सम्बन्ध राख्नुपर्ने विषयमा भने दलहरु नै एक–आपसमा विभाजित हुने गरेको दुःखदायी अवस्था छ । देश र जनताको हित हुने कार्यमा उनीहरुको कुनै प्रकारको मिलेमतो हुँदैन । आफ्नै स्वार्थ पूरा हुने र निश्चित फाइदा हुने विषयमा राजनीतिक दलका नेताहरु एकजुट हुने गरेका छन् । पछिल्ला वर्षहरुमा त झन् सत्तामा जानका लागि राजनीतिक दल र तिनका नेताहरुले जस्तोसुकै हर्कत गर्न पनि बाँकी राखेका छैनन् । राजनीति विचार, सिद्धान्त र निष्ठाले चल्न छोडेपछि भ्रष्टाचारका नयाँ–नयाँ रेकर्ड कायम हुने रहेछ । अहिले त्यस्तै भइरहेको छ ।

काकाको भनाइ त्यसै आएको होइन भन्ने सहजै पुष्टि हुन्छ । धनदौलत र पैसा आर्जन हुने भएपछि शासन–प्रशासनमा बसेकाहरु जस्तोसुकै कुकर्म गर्न पनि पछि नपर्ने अवस्था देखिएको छ । कर्मचारीतन्त्र पनि भ्रष्टाचारको दलदलमा यसरी भासिन पुगेको छ कि आफ्नो कर्मका कारण नराम्ररी बदनाम हुँदै गइरहेको छ । शासक–प्रशासकहरुमा देखिएको यस प्रकारको भ्रष्ट प्रवृत्तिका कारण जनताले सन्तोषको सास फेर्न पाइरहेका छैनन् । आज आमनागरिक रोग, भोक र शोकसँग जुध्न बाध्य भइरहेका छन् । तर पनि ठूला भनिएका राजनीतिक दललाई जनताको रोग, भोक र शोकसँग खासै मतलब छैन । जसका कारण चारैतिर निराशा र आक्रोश पैदा भइरहेको छ । शासन प्रणालीको भविष्य के हुने भन्ने प्रश्नसमेत उठ्न थालेको छ । यो सबै मुलुकमा चारैतिर देखिएको भ्रष्टाचार र नेताहरुको नैतिक स्खलनको उपज हो । भ्रष्टाचारको जालोले समाजका प्रायः सबै क्षेत्रलाई नराम्ररी गाँजिरहेको देखिन्छ । पदमा बसेकाहरु कम्बल ओढेर घिउ खान खप्पिस देखिन्छन् । उनीहरु रातारात मालामाल र करोडपति हुने ध्याउन्नमा रहँदा भ्रष्टाचारले सीमा नाघ्न पुगेको छ । अहिले शासक–प्रशासकमा भ्रष्टाचार जीवनशैली भएको छ ।

राजनीतिक र प्रशासनिक नेतृत्वमा राष्ट्रप्रति प्रेमभाव र समर्पण देखिन नसक्नु, भ्रष्टाचारीहरुलाई राजनीतिक नेतृत्वबाटै संरक्षण हुनु, अधिकांश राजनीतिक नेतृत्व भ्रष्टाचारमा चुर्लुम्म डुब्नु, भ्रष्टाचारीहरु र माफिया–बिचौलियाहरु आफैं राजनीतिमा लाग्नु, राजनीति र चुनाव महँगो हुनु, समाजमा नैतिक मूल्य र मान्यतामा ह«ास आउनु, व्यक्तिगत स्वार्थ हाबी हुनु, देशको नीति निर्माणमा संलग्न हुनेहरुको आचरण शुद्ध हुन नसक्नु, प्रशासनमा राजनीतीकरण हुनुलगायतका कारणले गर्दा भ्रष्टाचार बढिरहेको छ । सरकारका अधिकांश निकाय भ्रष्टाचारले डुङ्डुङ्ती गन्हाइरहेका छन् ।

८० वर्षीय छिमेकी काकाले के सन्तोषको सास फेर्न पाउनुहोला त ? यदि हाम्रा राजनीतिक दल र शासकहरुमा सुधार आउने हो र उनीहरुले सुशासनलाई ध्यान दिएर मुलुकमा विकास एवं समृद्धिको ढोका खोल्न सके भने काकाले जीवनको अन्तिम समयमा आएर भए पनि सन्तोषको सास फेर्न सक्नुहुन्थ्यो होला । फेरि यो चिन्ता, समस्या काका एक्लैको नभएर आम नेपालीको पनि हो । त्यसैले अब हाम्रा नेता, शासक–प्रशासकहरु सच्चिनुको विकल्प छैन ।

विश्वमा भ्रष्टाचार नियन्त्रण गर्न सकेका र भ्रष्टाचारीमाथि निर्मम कारबाही गर्न सकेका मुलुकहरुले मात्रै विकास र समृद्धि कायम गरेको देखिन्छ । चीनले भ्रष्टाचारीहरुमाथि कठोर कदम चाल्न सकेकाले नै विकासमा अग्रगामी छलाङ मार्न सकेको हो । दक्षिण–पूर्वी एसियाका मलेसिया तथा सिंगापुरजस्ता राष्ट्रले छोटो अवधिमा नै मुलुकलाई कायाकल्प गराउन सक्नुको प्रमुख कारण पनि ती देशले अपनाएको विधिको शासनको कडाइपूर्वकको पालना र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति नै हो ।

मुलुकमा भ्रष्टाचार रोक्ने हो भने सुधार माथिबाटै हुनुपर्छ । त्यसको लागि सबैभन्दा पहिला राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व आफैं सच्चिनुपर्छ । राजनीतिमा भ्रष्टाचार कम हुनेबित्तिकै अन्य सबै क्षेत्रका भ्रष्टाचारमा स्वतः कमी आउँछ ।

राजनीतिक नेतृत्वले भ्रष्टाचार नगर्ने हो भने प्रशासन संयन्त्र भ्रष्टाचार गर्न डराउँछ । त्यसैले राजनीतिक नेतृत्व सुशासनप्रेमी आउनासाथ त्यसको सकारात्मक असर सुशासनलगायत सबै क्षेत्रमा पर्छ । राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वमा कुनै सुधार नआउने र सधैँ भ्रष्टाचारमा मात्रै लिप्त हुने अवस्था आइरह्यो भने देश पूर्णतया असफल राष्ट्र बन्न सक्ने सम्भावना रहन्छ । त्यसैले त्यस्तो अवस्था आउन नदिन शासक–प्रशासकहरुले १० पटकसम्म सोच्नुपर्ने भएको छ । भ्रष्टाचार अन्त्य गर्न आमनागरिक समाजले पनि सशक्त अभियान थाल्नुपर्छ । नागरिकस्तरमा भ्रष्टाचारीलाई बहिष्कार गर्ने कार्यको थालनी आजैदेखि गरौं । त्यसो गर्न सकिएमा मात्रै काकाहरु ढुक्कका साथ सुत्न सक्ने वातावरण आउनेछ र आमजनताले राहतको महसुस गर्न सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्