सांस्कृतिक सद्भावमा आँच नआओस्



सहकालका देवता, करुणामय र बुंगद्योंको नामले परिचित ललितपुरको रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति कीर्तिपुरमा प्रतिस्थापन गरिएपछि विवाद शुरु भएको छ । यस विवादले गर्दा धर्म, संस्कृति र परम्परामा निहित विविध विषयहरु अहिले सार्वजनिक विमर्शको विषय बन्न पुगेका छन् । यस्ता विषयमा समाजमा कुरो उठ्नु, छलफल हुनु एक हिसाबले राम्रो हो । यसले परम्परा, संस्कृति र धर्मको महत्व बुझ्न र बुझाउन सघाउनेछ । अर्कोतर्फ यस्ता विषयमा मानिसको दिमाग, बुद्धि, तर्क र गणितभन्दा पनि भावना, श्रद्धा, विश्वास अन्योन्याश्रित तवरले गाँसिएको हुन्छ । कथंकदाचित सही निर्णय र बुझाइ हुन नसकी विवाद सुल्झाउन ढिलाइ भएमा त्यसले सामाजिक सद्भाव र सांस्कृतिक÷धार्मिक एकतामा आँच आउने देखिन्छ । साथै हिंसा भड्काउने खतरालाई पनि नकार्न सकिँदैन ।

रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति बनाई कीर्तिपुर नगरपालिका–२ स्थित प्यंगःथांमा प्रतिस्थापन गरिएपछि उठेको विवादको तथ्य, तर्क र धारणालाई केलाउने हो भने विवादको चुरो कुरो दुईवटा प्रश्नमा केन्द्रित रहेको देखिन्छ । पहिलो प्रश्न, रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति बनाउनुहुन्छ कि हुँदैन ? भन्ने रहेको छ । त्यस्तै प्रतिमूर्ति बनाइसकेको अवस्थामा रातो मच्छिन्द्रनाथको प्रतिनिधिका रुपमा पुजारीले कीर्तिपुरका शक्तिस्वरुपा कन्या (याकःमिसा) लाई हरेक वर्ष फूल–प्रसाद ग्रहण गराउने ठाउँमै त्यो प्रतिमूर्ति प्रतिस्थापन गर्नु के उचित हुन्छ त ? भन्ने दोस्रो प्रश्न रहेको छ । यसमा रातो मच्छिन्द्रनाथ पानेजु अर्थात् पुजारीहरुले मच्छिन्द्रनाथको प्रतिमूर्ति एक त बनाउन नमिल्ने, अर्कोतर्फ सोही स्थानमा राख्न पनि नमिल्ने तर्क तेस्र्याउँदै आएका छन् । पानेजुहरुका अनुसार रातो मच्छिन्द्रनाथ भनेको तन्त्रसाधनासँग जोडिएको देवता भएकाले नित्य पूजाआजाको निम्ति विशेष किसिमको शुद्धाशुद्धि, पूजाआजा र साधना अनिवार्य रहन्छ । त्यसले गर्दा अरु देवीदेवताको मूर्तिझैँ रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति बनाएर सार्वजनिक स्थानमा राखिएको इतिहास खासै छैन । कीर्तिपुरमा प्रतिस्थापित प्रतिमूर्तिले पूजाआजाको विशिष्ट धार्मिक विधिविधानको आवश्यकतालाई परिपूर्ति गर्दैन । फेरि हरेक वर्ष पूmल–प्रसाद चढाउने ठाउँमै प्रतिस्थापन गरेपछि त्यस परम्पराको धार्मिक हिसाबले के मूल्य होला भन्ने तर्क रातो मच्छिन्द्रनाथका पानेजुहरुको रहेको छ । रातो मच्छिन्द्रनाथ र कीर्तिपुरसँगको सम्बन्धको सेतु त्यस ठाउँमा प्रतिमूर्ति प्रतिस्थापना गरी पर्यटकीय गन्तव्यको रुपमा प्रचारप्रसार गर्ने उद्देश्यले यो काम भएको स्थानीयहरुको भनाइ छ ।

यस परिप्रेक्ष्यमा सो प्रतिमूर्ति त्यहाँबाट हटाउने पुरातत्व विभागको निर्णयलाई कीर्तिपुर नगरपालिका, ललितपुर महानगरपालिका र प्रतिमूर्ति बनाउनका लागि लागत रकम व्यहोर्ने काठमाडौं महानगरपालिकाले मान्ने भनेर औपचारिकरुपमा निर्णय भइसकेको छ । तर प्रतिस्थापित मूर्ति सोही स्थानमा यथावत् रहनुले विवाद सुल्झाउन प्रशासनिक निर्णयमात्र पर्याप्त नहुने स्थितिको संकेत भल्किन्छ । यो केवल कानुनी वा राज्यसँग जोडिएको विषयमात्र नभएकोले अरु विषयमा झैँ प्रचलित कानुन वा निर्देशनको भरमा वा शक्तिको प्रभावमा मात्र सुल्झाउन सकिन्छ भनेर सोच्नु युुक्तिसंगत हुँदैन । सबैभन्दा उत्तम उपाय भनेको दुवै पक्ष मिलेर संवादबाट समाधान निकाल्न तत्परता देखाउने हो । यसमा आपसी अडानभन्दा समष्टिगत जनताको धार्मिक आस्था र भावनालाई सर्वोपरि बनाई फराकिलो दृष्टिले संवाद गर्नुजस्तो उत्तम विकल्प अरु छैन । यसमा अरु सामान्य अवस्थामा भन्दा सरोकारवालाको समझ, इमानदारिता र जिम्मेवारपूर्ण भूमिकाले बढी महत्व राख्छ ।

प्रतिक्रिया दिनुहोस्