करोडौँको एम्बुलेन्स कवाडीमा परिणत, प्रवासीको सहयोग उपयोगविहीन 

0
Shares

खोटाङ । 

प्रवासी खोटाङे तथा विभिन्न दाताबाट उपलब्ध एम्बुलेन्सहरुको उचित व्यवस्थापन नहुँदा खोटाङवासीले सहज रुपमा उपयोग गर्न पाएका छैनन् । बेलायत, अमेरिका, ब्रुनाई, जर्मनी, मलेसिया, सिङ्गापुर, नेपाल लगायत विभिन्न ठाउँमा पुगेका जिल्लावासी र विभिन्न निकायका दाताले उपलब्ध गराएका १६ एम्बुलेन्स जिल्लामा भए पनि उपयोग हुन नसकेको हो ।

बिग्राएका कतिपय एम्बुलेन्स पुनः मर्मत गरेर सञ्चालनमा ल्याउन नसक्दा हाल कवाडीमा परिणत भएका छन् । खोटाङ सेवा समाज बेलायतले जन्तेढुङ्गा,ऐसेलुखर्क, दिप्रुङचुइचुम्मा, केपिलासगढी र खोटेहाङ गाउँपालिकाको केन्द्रमा पर्ने स्वास्थ्य संस्थाहरुलाई एक–एक एम्बुलेन्स प्रदान गरेको थियो ।

यस्तै, समाजले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बुइपा स्वास्थ्यचौकी र सोही नगरपालिकाको निर्मलीडाँडा स्वास्थ्यचौकीलाई समेत एक–एक एम्बुलेन्स प्रदान गरेको हो । प्रवासमा गाँस काटेर जुटाइएको रकमबाट प्रतिगोटा ३२ लाख मूल्य पर्ने कुल एक करोड १२ लाख ३१ हजार बराबरको सात वटा एम्बुलेन्स २०७३ चैत्रमा एक विशेष समारोहबीच प्रदान गरिएको तत्कालीन अध्यक्ष शोक राईको उल्लेख गर्नु भएको छ । तर, करोडौँ मूल्यको एम्बुलेन्स उचित व्यवस्थापन नहुँदा कवाडीमा परिणत भएका छन् ।

ऐसेलुखर्क, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा र खोटेहाङ गाउँपालिकाको एम्बुलेन्स लामो समयदेखि बिग्रिएर सञ्चालन हुन सकेको छैन । यस्तै, ऐसेलुखर्कको ग्यारेजमा चार वर्षदेखि एम्बुलेन्स थन्किएको गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले जनाउनुभयो ।

जिल्लाको खोटेहाङमा रहेको एम्बुलेन्स करिब दुई वर्षदेखि र निर्मलीडाँडामा भएको एम्बुलेन्स पनि तीन वर्षदेखि नचलेको निर्मलीडाँडा एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष मिलनचन्द्र राईको भनाई छ ।

यस्तै, नेपाल सरकारबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ मा उपलब्ध एम्बुलेन्स, भारतीय वेलफेयर सेण्टर दिक्तेलको एम्बुलेन्स, हलेसी तुवाचुङ नगरपालिकाको र नेपाल रेडक्रस सोसाइटिको एम्बुलेन्स पनि बिग्रिएर सञ्चालन हुन सकेको छैन ।

खोटाङ सेवा समाज बेलायतले दिएको सातवटा बाहेक जिल्लामा अन्य नौ वटा एम्बुलेन्स रहेका छन् । तर, मर्मत गर्नुपर्ने अवस्था हुने, चालक नियमित नहुने लगायतका समस्या पाइनाले सहज उपभोग गर्न नपाइएको जिल्लावासी बताउँछन् । दश स्थानीय तह रहेको जिल्लाका अधिकांश सडक कच्ची अवस्थामा रहेकाले पनि एम्बुलेन्स सेवा सञ्चालनमा समस्या आएको जिल्लावासीको बुझाइ छ ।