नक्कली परीक्षार्थी पक्राउ

0
Shares

धादिङ । 

धादिङको खनियाबास गाउँपालिकास्थित बच्छलादेवी माध्यमिक विद्यालय स्रोत केन्द्रबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन आएका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

खनियाबास गाउँपालिकाको वृचेत माध्यमिक विद्यालयका परीक्षार्थी राज तामाङको सट्टा परीक्षा दिइरहेको अवस्थामा सञ्जय लामालाई पक्राउ गरिएको हो । अनुगमनका क्रममा केन्द्राध्यक्ष चित्रबहादुर गुरुङसहितको टोलीले नक्कली परीक्षार्थी पहिचान गरेको जिल्ला शिक्षा समन्वय इकाई धादिङका प्रमुख राजेन्द्रबहादुर क्षेत्रीले बताए ।

‘शिक्षा ऐन २०२८ को नियमअनुसार कारबाही हुन्छ,’ उनले भने, ‘शिक्षा ऐनमा अरुको परीक्षा दिएमा १ लाखसम्म जरिवाना या छ महिनासम्म कैद वा दुवै सजाय हुनेछ भनेर लेखिएको छ । त्यहीअनुसार मुद्दा दर्ता भएर अघि बढ्छ ।’

राज तामाङको आज दिइएको परीक्षा रद्द भएको इकाई प्रमुख क्षेत्रीले बताए । तामाङको यो ग्रेड वृद्धि परीक्षा हो । ‘कुनै एक वा दुई विषयमा परीक्षा दिने खालको विद्यार्थी पनि हुन सक्छ । बाँकी परीक्षा छ भने परीक्षा दिन नपाउन पनि सक्छ,’ उनले भने ।