करदातालाई राजस्वको बोझ थपेर होइन करको दायरा बढाएर अर्थतन्त्र सवल बनाउने हो : नवनियुक्त अर्थमन्त्री डा. महत


काठमाडौँ ।

नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले व्यवसायीको आत्मबल बढाएर काम गर्ने बताएका छन् ।

शुक्रबार उनले अर्थमन्त्रीको पदभार ग्रहण गर्दै प्राथमिकता हेरेर आफ्नो कामलाई अगाडि बढाउने बताए । करदातालाई करको बोझ बढाएर भन्दा दायरा बढाएर अर्थतन्त्र सवल बनाउने उनले बताए ।

“हाम्रा करदातालाई बढ्न दिनुको सट्टा यसलाई फराकिलो बनाएर हामीले बढी भन्दा बढी लगानी जुटाएर काम गर्नुपर्छ । लगानी बढाउन हामीले काम गर्नुपर्छ,” उनले भने, “अहिले लगानी प्रतिवद्धता कम भइरहेको छ । यसलाई सकारात्मक बनाउने मेरो पहल हुनेछ ।”

मन्त्री महतले देशमा रोजगारी सृजना गर्न आफ्नो प्राथमिकता हुने बताए । विदेशी लगानीकर्ताको मन जितेर काम गर्ने पनि उनले प्रतिवद्धता जनाए । यसका लागि सबैले साथ दिनुपर्ने उनको भनाइ छ ।