भीम रावललाई सच्चिन पौडेलको आग्रह, कारबाहीको चेतावनी 

गठबन्धन सरकारको आयु छोटो

0
Shares

धनगढी।

पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीमबहादुर रावललाई सच्चिन आग्रह गरेका छन्। आज (शुक्रवार) प्रेस चौतारी नेपाल कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले यस्तो आग्रह गरेका हुन्।

पौडेलले अब भीम रावल नसच्चिए पार्टीले उचित निर्णय लिने पनि बताए। अब पार्टीले भीम रावलको तमासा सहेर बस्न नसक्ने पनि उनले दाबी गरे।

यस्तै १० औँ महाधिवेशनपछि नेता रावल पार्टीको विधि विधानभन्दा बाहिर गएको उनले आरोप लगाए।

‘उहाँ १० औँ महाधिवेशनपछि पार्टीको विधि विधान मान्न थाल्नुभएन, केन्द्रीय सल्लाहकार परिषद् सदस्यमा मनोनीत गर्दा पनि उहाँले स्वीकार गर्नुभएन’, पौडेलले भने ‘त्यसयता अहिलेसम्म पनि उहाँले पार्टीको नीति र नेतृत्व मान्नु भएको छैन। ’

रावललाई अझै पनि पार्टीको गतिविधिमा फर्किन पौडेलले सुझाव दिए। अझै पार्टी विरोधी गतिविधिलाई अगाडि बढाए वा आत्मालोचना नगरे पार्टीले थप कदम चल्न सक्ने पौडेल प्रस्ट्याए।

रावलले एकपछि अर्को गर्दै पार्टीको हित विपरीत काम गरेको र चितवन महाधिवेशनबाट निर्वाचित पार्टी नेतृत्वविरुद्ध काम गर्दै आएको भन्दै पौडेलले, रावलले आत्मालोचना गरेर असल नेताको रुपमा अघि बढ्नुपर्ने बताए। रावलले पार्टीका निर्णयविरुद्ध बोल्ने तथा अनुशासन उल्लङ्घन गर्ने काम गरिरहेकाले गल्ती स्विकार्दै आत्मालोचना नगरे पार्टीले उचित निर्णय पौडेलको भनाइ छ।

‘भीम रावल जीले एउटा पार्टी सदस्य, नेताले गर्नुपर्ने कर्तव्य निर्वाह गर्नुभएको छैन। उहाँले पार्टीको निर्णय मान्नुभएको छैन। अनुशासन उल्लङ्घन गर्नुभएको छ। पार्टी निर्णयविरुद्ध सार्वजनिक रुपमा बोल्नुभएको छ। पार्टीलाई कमजोर पार्ने गतिविधि भइरहेका छन्,’ पौडेलले भने, ‘उहाँले एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ। कमरेड भीम रावलले आफ्ना गल्ती स्वीकार गर्नुस्, आत्मालोचना गर्नुस्। नीति, विधिलाई पालना गर्नुस्। उहाँ नसचिए पार्टीले उचित निर्णय लिन्छ।’

गठबन्धन सरकारको आयु छोटो

यस्तै अर्को सन्दर्भमा उनले अहिलेको गठबन्धन सरकार लामो समय रहन नसक्ने जिकिर गरे।
अहिलेको सरकार जनविरोधी भएको भन्दै पौडेलले भने, ‘यो सरकारको भविष्य छैन।’

आगामी चुनावमा एमाले एक्लैले बहुमत ल्याउने गरी गृहकार्य गरिरहेको भन्दै उनले मिसन ग्रासरुटले पनि एमालेलाई अझै बलियो बनाएको बताए। उनले अब नेपाल डरलाग्दो अस्थिरतातर्फ गइरहेको पनि बताए।
अहिलेका सरकारले सत्ता टिकाउने र सत्तामा टिकिरहने काम मात्र गरेको उनको आरोप छ। अब आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बनेर सरकार बनाउने योजना रहेको उनको भनाइ छ।