उपनिर्वाचन हुने क्षेत्रमा मुख्य निर्वाचन अधिकृतहरू नियुक्त- चैत १८ देखि निर्वाचन अधिकृतको कार्यालय खुल्ने

0
Shares

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचन हुने तीन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतहरू नियुक्त गरेको छ । आयोगले आगामी १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि चितवन क्षेत्रनम्बर–२ मा जिल्ला न्यायाधीश वासुदेव न्यौपाने, बारा क्षेत्रनम्बर २ मा मुकेश उपाध्याय र तनहुँ क्षेत्रनम्बर–१ मा कमलप्रसाद आचार्यलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको हो ।

मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै चैत १८ गतेदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय खुल्नेछ भने उपनिर्वाचनका लागि २० गते उम्मेदवारीको मनोनयन दर्ता हुने आयोगले जनाएको छ ।

यसैबीच आयोगले बिहीबार उपनिर्वाचनको लागि अन्तिम मतदाता नामावली स्वीकृत गरेको छ । स्वीकृत मतदाता नामावलीबमोजिम वैशाख ९ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरूमध्ये महिला मतदाताको संख्या ८८ लाख ५२ हजार ४६ र पुरुष मतदाताको ९१ लाख ४९ हजार ३ सय ३५ र अन्य १ सय ८५ जना गरी जम्मा कुल मतदाता संख्या १८ लाख १५ हजार ६६ पुगेको छ ।

मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा महिला मतदाता ८८ लाख ४७ हजार ५ सय ७९, पुरुष मतदाता ९१ लाख ४० हजार ८ सय ६ र अन्य १ सय ८५ गरी जम्मा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० जना मतदाता थिए । उपनिर्वाचनसम्म आइपुग्दा मतदाता संख्यामा १२ हजार ९ सय ९६ वृद्धि भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिनुभयो ।

मंसिर ४ को निर्वाचनमा चितवन २ मा १ लाख २४ हजार २ सय १५, बारा जिल्ला २ मा १ लाख ५ हजार ११ र तनहुँ १ मा १ लाख २३ हजार ४ सय ९० मतदाता रहेका थिए । हिजो स्वीकृत मतदाता नामावलीअनुसार चितवन २ मा ४ सय ७० थप भई मतदाता संख्या १ लाख २४ हजार ६ सय ९५ पुगेको छ । यस्तै बारा २ मा २ सय ३७ थप भई १ लाख ५ हजार २ सय ४८ र तनहुँ १ मा १ सय ८५ घटेर १ लाख २३ हजार ३ सय ५ मतदाता कायम भएको पौड्यालले जानकारी दिनुभयो ।

यसै गरी आयोगको निर्णयानुसार देशभर १० हजार ८ सय ९२ मतदान स्थल र २२ हजार २ सय ३७ मतदान केन्द्र कायम भएको छ । उपनिर्वाचन हुने तीन जिल्लाका लागि १ सय ९४ मतदान स्थल र ४ सय २७ मतदान केन्द्र कायम भएको छ । सोअनुसार चितवन २ मा ४३ वटा मतदानस्थलमा १ सय ३८ मतदान केन्द्र, बारा २ मा ८२ मतदानस्थलमा १ सय ३७ मतदान केन्द्र र तनहुँ १ मा ६९ मतदानस्थलमा १ सय ५२ मतदान केन्द्र रहेको आयोगले जनाएको छ ।

आयोगको निर्णयअनुसार चितवन जिल्लामा फागुन १ गतेदेखि तथा बारा र तनहुँ जिल्लामा चैत ६ देखि लागु हुने अनलाइन प्रणालीमा आधारित मतदाता नामावली दर्ता र बाहिरी जिल्ला दर्ता स्थगन गरिएको छ । अन्य जिल्लामा भने मतदाता नामावली संकलन कार्य जारी रहेको छ ।