प्रधानमन्त्री तथा दलहरूले कस्तालाई बनाउलान् मन्त्री ?

मन्त्री बनाउँदा यस्ता गुण भएकालाई छानौं

0
Shares

काठमाडौं । नेपाली राजनीतिमा नैतिकता स्खलित भइरहेको अवस्थामा दल तथा नेताहरू सच्चिएर सरकारमा मन्त्रीहरू पठाउदा नैतिकवान र इमान्दार व्यक्तिलाई अवसर दिन सक्लान् ? राजनीतिक विश्लेषकहरू भन्छन्– ‘स्वार्थै स्वार्थले भरिएको गठबन्धनभित्र त्यस्ता नैतिकवान व्यक्तिले अवसर पाउने सम्भावना निकै कम छ ।’ तैपनि दलका नेताहरूले सच्चिएर असल व्यक्ति पठाउन सके निकै राम्रो ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गठबन्धन दलका नेताहरू अब सच्चिएर असल र देशका लागि चिन्तित रहने इमान्दार छविका व्यक्तिलाई मन्त्री बनाउनुपर्ने सुझाव विश्लेषकहरूले दिएका छन् । तर, पनि पछिल्ला दिनमा मन्त्री हुनेहरूको हल्ला चलेसँगै आएका नामहरू हेर्दा अधिकांश व्यक्तिहरू विवादास्पद छविका देखिएका छन् । विगतको अभ्यास हेर्दा केही अपवादबाहेक धेरै मन्त्रीहरूले कमाउधन्दामा नै लिप्त भएर राजनीतिक रूपमा नैतिकता गुमाएको बताइन्छ ।

राजनीतिक दल तथा तिनका प्रमुख नेताहरूले पनि आफ्नो दलबाट मन्त्री बनाउँदा विषयगत विज्ञता, क्षमता र कार्यकुशलताभन्दा आफ्नै आसेपासे र भक्तजनलाई बनाउने गरेको देखिन्छ । त्यसरी मन्त्री बन्ने व्यक्ति मुलुक र जनताको हितमा भन्दा पनि आफ्नै स्वार्थसमूहको हितमा समर्पित हुने गरी मन्त्री बनाउने गरिएको छ । अहिले पनि त्यस्तै प्रवृत्ति देखिएको र त्यस्तै व्यक्तिहरूलाई मन्त्री बनाउन लागिएको स्रोतको दाबी छ ।

मन्त्री बनाउँदा यस्ता गुण भएकालाई छानौं

१. योग्यहरूमध्येबाट सबैभन्दा योग्य
२.विकासमा स्पष्ट भिजन दिन सक्ने
३.समाजवादको मार्ग पहिचान गर्न सक्ने
४.पार्टीको काममा रहँदा सम्बन्धित मन्त्रालयको काममा अनुभवी
५.व्यापारिक हित समूह र स्वार्थ समूहसँग मिलेमतो नगर्ने
६.मुख्य रूपमा राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राख्न सक्ने
७.पारदर्शितामा अत्यधिक ध्यान दिने
८.हरपल जनताको निकट रहेर काम गरेको
९. उच्चस्तरको नैतिकतामा रहेको
१०. वर्षैपिच्छे सम्पत्ति विवरण सार्वजनिक गर्न सक्ने
११.राजनीति र प्रशासनको स्पष्ट सीमा बुझ्न सक्ने
१२.सादा जीवन उच्च विचार राख्न सक्ने
१३. उच्च निर्णय क्षमताको
१४. आफ्नो मन्त्रालयसँग सम्बन्धित विषय स्पष्टसँग राख्न सक्ने
१५.कर्मचारीलाई सकारात्मक रूपमा काबुमा राख्न सक्ने
१६.भ्रष्टाचारको जालो तोड्न सक्ने
१७, माफिया, विचौलिया र तस्करलाई घृणा गर्ने
१८.जतिखेर पनि काममा खट्न तत्पर
१९.मन्त्रालयको काममा छुट्टै गति ल्याउन सक्ने
२०. भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई व्यवहारमा लागू गर्नसक्ने