पूर्वराजा ज्ञानेन्द्र सक्रिय राजनीतिमा फर्किने संकेत

0
Shares

– २० गते नागरिक अभिनन्दन गरिने
– १ हजार १ मूल समारोह समिति
– व्यक्तिगत रूपमा सबै पार्टीका नेता आमन्त्रण गरेका छौं : संयोजक विष्ट
– राप्रपाले आन्दोलन गर्न लाग्दा पूर्वराजाको नागरिक अभिनन्दन

काठमाडौं । हिन्दुराज्य र राजतन्त्रको माग गर्दै आन्दोलनमा देशका विभिन्न जिल्लामा कार्यक्रम आयोजना गरेको नागरिक समूहले पूर्वराजा ज्ञानेन्द्रलाई नागरिक अभिनन्दन गर्ने भएका छन् । नागरिक अभिनन्दन मूल समारोह समितिका संयोजक एवं पूर्वमन्त्री केशरबहादुर विष्टको संयोजकत्वमा गठित नागरिक अभिनन्दन मूल समारोह समितिले पूर्वराजा ज्ञानेन्द्रलाई नागरिक अभिनन्दन गर्न लागेको हो ।

इनरुवास्थित खेल मैदानमा चैत २० गते नागरिक अभिनन्दन हुँदै छ । १ हजार १ सदस्यीय मूल समारोह समितिमा सिनेट श्रेष्ठ, रमा सिंहलगायत पूर्वराजावादी सदस्य छन् । नागरिक अभिनन्दन समारोहमा सबै दलका नेतालाई व्यक्तिगत रूपमा निम्तो पठाउने तयारी भइरहेको संयोजक विष्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘यो कार्यक्रममा पार्टीगत रूपमा ठूला पार्टीका कोही नआउलान् तर व्यक्तिगत रूपमा सयांै जनाले सहभागिता जनाउनेछन् ।’ उहाँले नागरिक अभिनन्दनका लागि देशभरबाट नेपाली जनता इनरुवामा आउने क्रम शुरू भएको बताउनुभयो । समारोहमा राप्रपाको केही नेता आउने कार्यक्रम रहेको छ ।

पूर्वराजा ज्ञानेन्द्रको इसारामा वर्तमान सरकारमा सहभागी नभएको र पुष्पकमल दाहाललाई विश्वासको मत नदिएको राप्रपाले समेत नागरिक अभिनन्दनमा आफ्ना नेता र कार्यकर्तालाई जान आग्रह गरेको छ ।

पूर्वराजालाई सक्रिय बनाउन आन्दोलन गर्ने तयारी गरेको राप्रपाले एक साता अध्यक्ष राजेन्द्र लिङ्देन, महामन्त्री धवलशमशेर, उपाध्यक्ष रवीन्द्र मिश्रसहितको टोलीले झापास्थित चिया बगानमा भेट गरी राजनीतिमा सक्रिय हुन सुझाएका थिए ।

राप्रपाले आन्दोलनको तयारी थाल्नु र पूर्वराजालाई नागरिक अभिनन्दन गर्नु आन्दोलनको स्वरूप भएको राजावादीको भनाइ छ । अहिलेको अवस्थामा नागरिक अभिनन्दन गर्न नहुने सुरक्षा निकायको ठम्याइ छ । पछिल्लो दुई महिनायता राजनीतिमा सक्रिय पूर्वराजा ज्ञानेन्द्र आइतबार इटहरीको शिवालय धाममा आरती कार्यक्रममा सहभागी हुनुभएको थियो ।

पछिल्लो एक महिना यता कहिले भारत भ्रमण त कहिले राप्रपा र राजावादीका नेतासँग गोप्य भेट जारी राखेका ज्ञानेन्द्रले राजतन्त्र र हिन्दुराजाको एजेन्डालाई मूल मुद्दा बनाउँदै सक्रिय राजनीति शुरू गर्न थाल्नुभएको छ । सोही मुद्दालाई सार्थक बनाउन राप्रपाले निरन्तर ज्ञानेन्द्रको साथ खोजिरहेको छ ।

राप्रपा नेपालले संघीयता खारेजीको मुद्दालाई चर्काउन सडक आन्दोलन गर्ने तयारी गरिरहँदा पूर्वराजा ज्ञानेन्द्र भने नागरिकसँग नजिक भइरहनुभएको छ । फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा जारी गरेको सन्देशमा मौन नबस्ने संकेत गरेका ज्ञानेन्द्रले सडक र सदनबाट हिन्दुराज्य र राजतन्त्रको मुद्दा दलहरूलाई सहकार्यका निम्तिसमेत उहाँले आह्वान गर्नुभएको थियो । सोही अभियानअन्तर्गत फागुन २२ गते सपरिवार भारत भ्रमणमा गएका थिए । लगत्तै राप्रपाका अध्यक्षसहितको नेतासँग भेट गर्नुलाई महत्वका साथ हेरिएको छ ।

मंसिर ६ देखि झापा रहँदै आएका ज्ञानेन्द्रले राप्रपाका सबै नेतासँग गोप्य छलफल गरी आन्दोलनमा होमिन सुझाउनुभएको छ । त्यसको परिणामस्वरूप तीन दिनअघि बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जनजीविकाका लागि आन्दोलन गर्ने बताएका थिए ।

पछिल्लो समयमा राजनीतिमा सक्रिय देखिन थाल्नुभएका ज्ञानेन्द्रले राजतन्त्रसहितको प्रजातन्त्रको पक्षमा खुलेरै लाग्नुभएको छ । करिब एक महिनाअघि दुर्गा प्रसाईंले आयोजना अभियानको प्रमुख अतिथि बन्दा आलोचना खेप्नुपरेका ज्ञानेन्द्रले राजनीतिमा सक्रियता खोजेको देखिएको छ ।

हिन्दुराज्य र राजतन्त्रको माग बलियो रूपमा उठाउन राजावादीलाई गोप्य रूपमा दबाब दिनुभएकोे झापा बसाइका क्रममा राप्रपाका उच्च तहका नेता तथा कार्यकर्तासँग निरन्तर भेटमा हुनुहन्छ ।

कहिले चितवन त कहिले जनकपुर र सिमरा आउँदैजाँदै गर्नुभएका ज्ञानेन्द्रले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँगको भेटमा हिन्दुराज्य र राजतन्त्रको विषयमा आफ्नो अडानलाई संसद्मा कडारूपमा उठाउन आग्रह गर्नुभएको छ ।