उपनिर्वाचनमा उम्मेदवार बन्न आन्तरिक प्रतिस्पर्धा- चितवनमा कांग्रेसका जितनारायण र रास्वपाका रवि पक्कापक्की

0
Shares

काठमाडौं । आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवार बन्न आन्तरिक प्रतिस्पर्धा शुरू भएको छ ।

उपनिर्वाचनका लागि उम्मेदवार मनोनयन गर्ने दिन नजिकिँदै गएपछि उम्मेदवार बन्न दलभित्र नेताहरूको घरदैलो धाउने कसरत बढ्दै गएकालाई मध्यनजर गरी आधिकारिक उम्मेदवार टुंगो लगाउन दलहरू आन्तरिक रूपमा जुट्न थालेका छन् ।

चितवन क्षेत्र नं २, तनहँु क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा उपनिर्वाचन हुन लागेको हो । सत्तागठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जितनारायण श्रेष्ठलाई चितवन क्षेत्र नं २ का लागि उम्मेदवार लगभग पक्कापक्क भइसकेको बताइएको छ ।

उम्मेदवार बनाउन नेपाली कांग्रेसको चितवन जिल्ला समितिले ११ जनाको नाम सिफारिस गरेको थियो । देवेन्द्र गुरूङ, जितनारायण श्रेष्ठ, राजेश्वर खनाल, मिलनबाबु श्रेष्ठ, राजन कार्की, कैलाश कोइराला, विपिन रामुदामु, देवकी गौतम, उमेश श्रेष्ठ, पार्वती शाह ठकुरी र गौरी श्रेष्ठको नाम समावेश गरेको थियो । त्यसमध्येबाट श्रेष्ठलाई उम्मेदवार बनाउने कांग्रेसको तयारी रहेको छ । आज बिहीबार बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो ।

त्यसै गरी नेकपा (एमाले) मा उम्मेदवार बन्न तीन जनाको मुख्य दाबेदारी छ । एमालेले कृष्णभक्त पोखरेल, देवी ज्ञवाली र विजय सुवेदीमध्ये एक जनालाई उम्मेदवार बनाउने तयारी गरेको छ । पोखरेल गत निर्वाचनमा तेस्रो हुनुभएको थियो भने प्रदेशसभा सदस्यमा पराजित हुनुभएको थियो । एमाले जिल्ला अध्यक्षसमेत रहेका सुवेदी भरतपुर महानगरपालिकाको मेयरमा पराजित भएका हुनुभएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सभापति रवि लामिछाने उम्मेदवार बन्ने निश्चित छ । चितवन क्षेत्र नं २ मा राष्ट्रिय जनमोर्चाले पनि उम्मेदवारी दिने निर्णय गरिसकेको छ । जनमोर्चाले पार्टीका उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

गत आम चुनावमा चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने नागरिकता प्रकरण दोषी ठहर भएपछि पद खाली भएको थियो । बारा क्षेत्र नं २ माओवादीले आफ्नो पार्टीबाट उम्मेदवार नउठाएर जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ । बारा क्षेत्र नं २ को उम्मेदवार बन्न माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाह सिके राउतको जनमत पार्टीमा बुधबार प्रवेश गर्नुभयो । उहाँले एक समारोहका बीच उम्मेदवार दिने घोषणा गर्नुभयो ।

बारा र तनहँुमा हुने उपनिर्वाचनमा भाग लिन २६ दलले निर्वाचन आयोगमा दर्ता गराएका थिए भने चितवन क्षेत्र नं २ का लागि १८ वटा दलले दर्ता गराएका थिए । यसैबीच आयोगले आज बिहीबार उपनिर्वाचन प्रयोजनका निम्ति आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावली प्रकाशन गर्ने छ । त्यसै गरी चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, चैत २० गते उम्मेदवारको मनोनयन दर्ता र चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिनेछ ।