मिल्यो भागबण्डा : रास्वपा र जनमोर्चाबाहेक ९ दलीय सरकार बन्ने



कठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको भागबण्डा मिलेको छ । सत्ता गठबन्धन दलहरुबीच बुधबार साँझ बालुवाटारमा बसेको बैठकले मन्त्रालय बाँडफाँट मिलाएको हो । दश दलीय गठबन्धनको बैठकले ९ दल सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्रालय विभाजनको सहमति गरेको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिनुभयो ।

सरकारमा सहभागी हुनेमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टी र नेपाल समाजवादी पार्टी रहेका छन् । गठबन्धन भएको मन्त्रालयको भागबण्डाअनुसार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको रास्वपालाई भने सरकारमा सहभागी नगराउने भएका छन् । पुस १० मा बनेको सत्ता समीकरणअनुसार उपप्रधान गृहसहित ३ मन्त्री र एक राज्यमन्त्री लिएर सरकारमा सहभागी भएको रास्वपा यसपटक सरकारमा सहभागी हुन खोजे पनि गठबन्धनमा सहभागी दलहरुलाई मन्त्रालय भाग पु¥याउनै सकस परेको थियो ।

बुधबारको सहमतिअनुसार कांग्रेस ८, माओवादीलाई प्रधानमन्त्रीसहित ५, एकीकृत २ र जसपालाई २ मन्त्रालय पाउने सहमति भएको छ । यस्तै जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कसले कुन मन्त्रालय लिने भन्ने विषयमा मोटामोटी सहमति भए पनि बिहीबार बिहानसम्म टुंगो लगाएर साँझ मन्त्रिपरिषद् विस्तारको तयारी भएको गठबन्धन दलका नेताहरुले बताएका छन् ।

पुस १० मा सरकारमा सहभागी रास्वपाका सभापति एवं तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नागरिकता प्रकरणमा दोषी ठहर भएपछि उहाँको मन्त्री तथा सांसद पद गएको थियो । त्यसपछि लामिछानेले उपप्रधान तथा गृहमन्त्री नै पाउनुपर्ने दाबी गरे पनि प्रधानमन्त्री प्रचण्ड अनिच्छुक देखिएपछि रास्वपा माघ २२ गते सरकारबाट बाहिरिएको थियो । यसपटकसमेत विश्वासको मत दिएर सरकारमा जाने तयारीमा रहेको रास्वपालाई सत्ता गठबन्धन दलहरुले मन्त्रालय भागबण्डामा सामेल गराउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्