आर्थिक संकट भयावह : पौडेल

0
Shares

डडेल्धुरा ।  

नेपालमा आर्थिक सङ्कटको अवस्था भयावह बनिरहेको नेकपा (एमाले) का उपाध्यक्ष पूर्व अर्थमन्त्री विष्णु पौडेलले बताउनु भएको छ । अर्थतन्त्र डर लाग्दो अवस्थामा रहेको र २०२८ सालपछि पहिलो पटक अघिल्लो वर्षको तुलनामा कम राजस्व संकलन भएको उहाँले बताउनु भयो ।

नेता पौडेलले आरोप भन्दा शक्तिशाली तथ्य हुने बताउँदै आर्थिक संकटतर्फ उन्मुख अर्थतन्त्रलाई ठिक लयमा फर्काउन आफूले निकै कोसिस गरेको जिकिर गर्नुभयो । सरकारले आर्थिक अराजकता नियन्त्रण गर्नुको साटो फजुल खर्च बढाउँदै लगेकाले मुलुकमा थप गम्भीर आर्थिक सङ्कटको अवस्था उत्पन्न हुने उहाँले ठोकुवा गर्नुभयो ।

देशव्यापी रुपमा सञ्चालित मिसन ग्रासरुट अभियान अन्तर्गत हाल सुदूरपश्चिम प्रदेशमा व्यस्त रहनुभएका उपाध्यक्ष पौडेलले बुधवार नेकपा (एमाले) डडेलधुराले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको पूर्व सन्ध्यामा पत्रकारहरुसँग कुराकानी गर्दै तत्काल वर्तमान सरकार ढलाउने खेलमा एमाले नरहेको स्पष्ट पार्नुभयो ।

प्रेस चौतारी नेपाल डडेल्धुरा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै उपाध्यक्ष पौडेलले मुलुकमा राजनीतिक स्थायित्वको अभावमा अर्थतन्त्र धराशायी बन्न थालेकोले एमालेले जिम्मेवार प्रतिपक्ष बनेर सरकारलाई सही बाटोमा हिँडाउने भूमिका निर्वाह गर्ने बताउनु भयो । उहाँले भर्खरै सम्पन्न भएको निर्वाचनबाट जनताले कुनै पनि राजनीतिक दललाई स्पष्ट बहुमत नदिएको र ढिलो चाँडो देशमा फेरी चुनाव हुने अवस्था आएको बताउनु हुँदै आगामी निर्वाचनमा स्पष्ट बहुमत सुनिश्चित गर्नको लागी नेकपा एमालेले देशका सबै पालिका तथा वडामा मिसन ग्रासरुट अभियान सुरु गरिरहेको बताउनु भयो ।

उपाध्यक्ष पौडेलले पत्रकार सम्मेलन लगत्तै जिल्लास्तरीय अगुवा नेता कार्यकर्ताहरूलाई प्रशिक्षण दिनुभएको छ । उपाध्यक्ष पौडेलसँगै नेकपा (एमाले)का सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, सह ईन्चार्जद्वय कर्णबहादुर थापा र राजेन्द्रसिंह रावल, केन्द्रीय सदस्यद्वय भैरवबहादुर सिंह र गौरीशंंकर चौधरी, नेकपा (एमाले)का सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारी लगायतका नेताहरुले प्रशिक्षण दिनु भएको नेकपा (एमाले) डडेलधुराले जनाएको छ ।