अख्तियारले समात्यो २७ लाख घूसको बिटो – नगद र चेकसहित दुई पक्राउ

0
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संघीय राजधानी काठमाडौंमा नै २७ लाखभन्दा बढी नगद र चेक र घूसको बिटोसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंस्थित नापी कार्यालय मनमैंजुका सर्वेक्षक रमेश उपरकोटी र उनीसँग सेटिङ गर्ने लेखापढी व्यवसायी अभिषेक कार्की रहेको अख्तियारले जनाएको छ ।

जग्गाको कित्ताकाट गर्ने क्रममा सेवाग्राहीसँग घूस मागिरहेको भन्ने सूचनाका आधारमा अख्तियारले मंगलबार गरेको स्टिङ अप्रेसनमा घूसको बिटोसहित उनीहरु फेला परेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रवक्ता दाहालले बताउनुभयो ।

प्रवक्ता दाहालका अनुसार नापी कार्यालय मनमैंजुका रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिषेक कार्कीले सेवाग्राहीसँग घूस मागेको र घूस रकम १ लाख ७५ हजार रुपियाँ लिइरहेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको हो । यसै गरी कार्कीको शरीरमा खानतलासी गर्दा थप ७ लाख ६९ हजार ५ सय नगद र १६ लाख बराबरको तीनवटा चेक फेला पारिएको अख्तियारले जनाएको छ । यसै गरी सर्वेक्षक रमेश उपरकोटीको शरीर खानतलासी गर्दा १ लाख ८५ हजार ३ सय रुपियाँ फेला परेको छ ।

घूससहित पक्राउ परेका सर्वेक्षक उपरकोटी लमजुङ राइनास नगरपालिका–५ घर भई हाल काठमाडौंस्थित तारकेश्वर नगरपालिका–१० मनमैंजुमा बसोबास गर्दै आइरहेका छन् भने लेखापढी व्यवसायी अभिषेक कार्की रामेछापको रामेछाप नगरपालिका–७ घर भई हाल तारकेश्वर–१० मनमंैजुमा नै बसोबास गर्दै आइरहेका छन् । अख्तियारका अनुसार निवेदकले नापी कार्यालय मनमैंजुमा जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्न जाँदा सर्भेक्षक उपरकोटीसमेतले काम नगरी दुःख हैरानी दिएको तथा निज सर्भेक्षक उपरकोटीले १

लाख ७५ हजार घूस माग गरी सो रकम लेखापढी व्यवसायी कार्कीलाई दिनू भनी सो कित्ताकाट गरिदिएको साथै त्यसपश्चात पनि निज कार्कीले पटकपटक फोन गरी दुःख हैरानी दिई बारम्बार घूस रकम माग गरेको भन्ने उजुरीका आधारमा अख्तियारले स्टिङ अप्रेसन गरेको थियो । अख्तियारका अनुसार घूस रिसवतबापतको रकम लेखापढी व्यवसायी अभिषेक कार्कीले सर्भेक्षक रमेश उपरकोटीलाई अग्रिम रुपमा दिई उनकै नाम लिएर सेवाग्राहीबाट रकम उठाउँदै गर्दा उनी नियन्त्रणमा परेका हुन् ।