सहकर्मी कर्मचारी कुट्नेमाथि कारबाहीको माग राख्दै आन्दोलित 

0
Shares

रौतहट  । 

सहकर्मी कर्मचारी कुट्नेलाई कारबाही नगरेको भन्दै नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रका कर्मचारी आन्दोलित भएका छन् । गएको फाल्गुण ५ गते  नेपाल विद्युत् प्राधिकरण मौलापुर वितरण केन्दका सहायक इन्जिनियर महेन्द्र चौधरी लाई कुटपिट र दुर्व्यहार गर्ने माथि अझै कारबाही नभएको भन्दै नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रका कर्मचारीहरु हातमा कालोपटी बाँधेर आन्दोलित भएका छन् ।

दोषीलाई कारबाही नभए चरणबद्ध आन्दोलन गर्ने समेत उनीहरुले बताएका छन् । नेपाल विद्युत् प्राधिकरण मौलापुर वितरण केन्द्र सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने माग समेत विद्युत् कर्मचारीको रहेको छ ।

सहकर्मी कुटिएपछि नेपाल विद्युत् प्राधिकरण मौलापुर वितरण केन्द्रका प्रमुख अरुणकुमार साहसहित २४ जना कर्मचारीले कार्यालय छाडेर नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय जनकपुरमा त्यसै समयमा हाजिर भएका थिए ।

गत फाल्गुण ५ गते मौलापुर नगरपालीका–५ स्थित पतौरामा लागेको मधानी महायज्ञ मेलाको लागि बिजुली पोलबाट सिधै हुकिङ गरेर विद्युत् लाईन जडान गर्न दबाब दिएपछि कर्मचारीले नियम विपरीत गर्न नमानेपछि आम जनता पार्टीका नेता त्रिभुवन साह (अमनलाल साह)  र धिरज पाण्डे सहित २५/३० जनाको समूहले सहायक इन्जिनियर चौधरीलाई कार्यालय परिसरमा कुटपिट गरी अपहरण शैलीमा गाडीमा राखेर मेलामा पुर्‍याएको आरोप उनीहरुको रहेको छ ।

नेपाल विद्युत् प्राधिकरण मौलापुर वितरण केन्द्र ज्यालादारी र करारका कर्मचारीबाट वितरण केन्द्र सञ्चालनमा रहेपनि विद्युत् मिटर जडान, बक्यौता रकम सङ्कलन, मिटर रिडिङ्ग, चुहावट नियन्त्रण जस्ता कार्य रोकिएपछि उपभोक्ता मर्कामा परेका हुन । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र चन्द्रनिगाहपुरका प्रमुख धीरेन्द्र यादवले आफना सहकर्मी कर्मचारी कुट्ने दोषी लाई कारबाही नभएपछि आन्दोलन गर्न बाध्य भएको बताउनुभयो ।