काठमाडौं ।
सरकारी स्वामित्वमा रहेको कान्ति बाल अस्पताल र प्रहरी तालिम प्रतिष्ठानले राजकुलो पुरेपछि राष्ट्रपति भवन शितल निवासको ढल मानव बस्तीमा पसेको छ । केही दिन अघि भएको अविरल बर्षापछि आएको बाढीमा ढल मिसिएपछि बाढी चक्रपथभित्रको तिलिंगाटारको मानवबस्तीमा पसेको हो ।
कान्ति बाल अस्पताल र प्रहरी तालिम प्रतिष्ठानको सीमा छुट्याउने राजकुलो मासिने गरी दुई वर्षअगाडि हिमपाइप गाडिएको थियो । त्यही हिम पाइप टालिएपछि बाढी बस्तीमा पसेको हो । राजकुलो मासिने गरी परिएको सीमामा लाखौँ रुपियाँ खर्च गरी अग्लो तारबार लगाइएको छ ।
मानवबस्तीमा ढल पसेर आवागमनमा समेत बाधा पुगेपछि स्थानीयहरु वडा कार्यालयलाई गुहारेका छन । स्थानीयले काडमाडौ महानगरपालिका ३ नम्वर वडा कार्यालयमा निवेदन दिएका छन् ।उक्त ढलको उचित व्यवस्थापनकालागि वडा कार्यालयमा निवेदन दिएको स्थानीय वासिन्दा ध्रुव पौडेलले जानकारी दिनुभयो । मानववस्तीमा ढल पसेको भन्दै स्थानीयलेले वडा कार्यालयलाई गुहारेपछि वडा कार्यालयले उक्त समस्या समाधान गर्न पहल गर्ने स्थानीय वासिन्दालाई आश्वासन दिएको पौडेलले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।
स्थानीयले राष्ट्रपति कार्यालयलाई यस अघि नै उक्त समस्यामा स्थानीय परेको भन्दै पटक पटक मौखिक जानकारी गराएको भएपनि राष्ट्रपति कार्यालयले कुनै वास्ता गरेको छैन । स्थानीयले परम्परादेखि रहेको राजकुलोलाई पहिले कै अवस्थामा फर्काउन समेत माग गरेका छन । पहिलेकै अवस्थामा राजकुलो रहने हो भने स्थानीयले समस्या भोग्न नपर्ने समेत स्थानीयले आवाज उठाउदै आएका छन् ।
राजकुलो मास्ने काम नेपाल प्रहरीको व्याण्ड गुल्म र कान्ति अस्पतालले गरेको आरोप स्थानीयले लगाएका छन । सरकारी सम्पती सरकारी निकायकै मिलेमतोमा मासिनु विडम्वना भएको स्थानीय सरद शर्माले बताउनुभयो । उक्त समस्या समानधान नभए आफुहरु आन्दोलन गर्न पनि तयार रहेको शर्माले बताउनुभयो । राष्ट्रपति कार्यालय, कान्तिवाल अस्पताल र त्रिवि शिक्षण अस्पतालको ढल बस्तीमा पसेपछि वस्ती नै दुर्गन्धित भएको पौडेलले जानकारी दिनुभयो ।












प्रतिक्रिया