भीम र विष्णुबीच ‘वार’

0
Shares

धनगढी ।

देशैभर नेकपा एमालेले मिसन ग्रासरुट अभियान चलाइरहेको छ। सोही क्रममा अभियानकै लागि सोमवार नेकपा एमालेका पूर्व उपाध्यक्ष भीमबहादुर रावलको गृहजिल्लामा वर्तमान उपाध्यक्ष विष्णु पौडेल पुग्नुभयो। पौडेल अन्य सुदूरपश्चिमका नेताहरु प्रदेश इन्चार्ज लेखराज भट्ट, सह इन्चार्ज कर्णबहादुर थापा र प्रदेश अध्यक्ष दामोदर भण्डारीसहित अछामको साँफेबगर पुग्नुभएको थियो।

साँफेबगर भीम रावलको गृह क्षेत्रसमेत हो। त्यहाँ विष्णु पौडेल प्रमुख अतिथि रहेको पार्टीको आन्तरिक कार्यक्रम भएकाले नेता रावलबारे कसैले केही नबोल्ने सहमति पहिले नै भएको थियो। किनकि संसदीय निर्वाचनताका र त्यसपछिदेखि  रावल निकट कार्यकर्ताले अछाममा एमालेको नेतृत्वविरुद्ध गतिविधि तथा नाराबाजी समेत गर्दै आउनुभएको थियो।

रावल तिनै नेता हुन्, जसले चितवनमा भएको नेकपा (एमाले) को १०औँ महाधिवेशनमा केपी शर्मा ओलीविरुद्ध गएर चुनाव लड्नुभयो। अछामका रावलले ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिएर पराजित बन्नुभएको थियो। त्यसपछि भने रावल एमालेमा ओलीविरुद्ध गएकै कारण किनारामा पारिए। रावल पछिल्लो समय एमालेमा निष्क्रियजस्तै हुनुहुन्छ। उहाँलाई एमालेको केन्द्रीय सदस्य अथवा सल्लाहकार बनाउन खोजिएको थियो। तर, रावलले पद लिन अस्वीकार गर्नुभएको थियो।

त्यसपछि रावलले अछामबाट प्रतिनिधि सभामा चुनाव लड्न चाहनुभएको थियो। तर, एमाले अध्यक्ष ओलीले रावललाई टिकट नै दिनुभएन। त्यहाँ रावलको टिकट खोसेर पूर्व माओवादी खेमाका अर्का नेतालाई उम्मेदवार बनाइएको थियो।त्यसपछि एमालेमै बसेर ओलीविरुद्ध संघर्ष गर्ने घोषणा गनुभएका रावल पार्टी र राजनीतिमा बिस्तारै निष्क्रिय बन्दै जानुभएको थियो। तर, अचानक उहाँ १९ फागुनमा अछामस्थित ग्रास रुट कार्यक्रममा देखिनुभएको थियो। त्यो बेला साँफेबगरमा केपी ओली समूह र भीम रावल निकट समूहले छुट्टाछुट्टै ग्रास रुट कार्यक्रम गरेका थिए। त्यो बेला नै छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिएपछि एक अर्काप्रति आरोप प्रत्यारोप समेत भएको थियो।

त्यस्तै, त्यो बेला छुट्टाछुट्टै कार्यक्रम गर्दा केही समय तनाव पनि भएको थियो। पछि सुरक्षाकर्मी नै परिचालन गरी अवस्थालाई सामान्य पारिएको थियो। त्यो बेला यत्तिकै सामसुम पारिएको विवाद फेरि हिजो छताछुल्ल भएको छ। विष्णु पौडेल लगायतका नेता तथा कार्यकर्ता सहभागी कार्यक्रममा भीम रावलको आलोचना भएपछि विवाद छताछुल्ल भएको हो। कार्यक्रममा मञ्चबाटै सम्बोधन गरेर पूर्व माओवादी नेता तथा एमालेका सल्लाहकार परिषद् सदस्य डडेल्धुरानिवासी पदम जोशीले रावलको आलोचना गनुभएको थियो। उहाँले रावलको आलोचना गरेर बोलेपछि तल रहेका रावल निकटका कार्यकर्ताहरूले नाराबाजी तथा कुर्सी तोडफोड गरेका हुन्।

कार्यक्रममा सहभागी एक नेताका अनुसार रावल पक्षधर कार्यकर्ताले कुर्सी हान्दा केही बेरका लागि कार्यक्रम नै भाँडिएको थियो।साँफेबगरस्थित खाद्य गोदामको हलमा भएको कार्यक्रम तनावपूर्ण भएपछि नेताहरुले उक्त कार्यक्रम केही बेरका लागि स्थगित गर्नुभएको थियो। तर पछि नेता जोशीले रावलको आलोचना गर्दै बोलेका कुरा फिर्ता लिएपछि अवस्था सामान्य भएको थियो।

तनावपछिको अवस्था सामान्य भएपछि स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले सम्बोधन गनुभएको थियो। त्यसक्रममा उनले भीम रावलले पार्टी निर्माणमा भूमिका खेलेको कुरा राख्दै यस विषयमा अहिले नै गम्भीर नहुन सुझाउनुभयो। त्यसपछि एमाले सचिव लेखराज भट्टले सम्बोधन गनुभयो। अनि अन्तिममा उपाध्यक्ष पौडेलले सम्बोधन गर्नुभयो। त्यसक्रममा उहाँले सबै घटनाक्रमसँग आफू र समग्र पार्टी जानकार रहेको बताउँदै रावलका बारेका ठोस निर्णय लिइने जनाउनुभएको थियो।रावललाई पार्टीले कारबाही गर्न सक्ने कुरातर्फ उहाँको भनाइ केन्द्रित थियो।त्यसपछि पौडेलसहितका नेताहरु कार्यक्रम सकेर डडेल्धुरातर्फ लाग्नुभएको थियो।

धनगढीमा रावलको प्रतिवाद

हिजो अछाममा भएको घटनापछि नेकपा एमालेका नेता भीम रावलले धनगढीमा पत्रकारहरुलाई बोलाएर भेटघाट गनुभयो। भेटघाटका क्रममा उहाँले अछाममा कार्यकर्ताबाट मिसन ग्रासरुटसम्बन्धी कार्यक्रम बिथोल्नु शीर्ष नेताहरुकै गल्ती रहेको दाबी गर्नुभयो ।

उहाँले आफूलाई एमालेबाट धकेलेको धकेल्यै गर्ने क्रम बढिरहेको पनि बताउनुभयो। सोमबार कञ्चनपुरमा नेकपा एकीकृत समाजवादीका नेतासमेत सहभागी भेलालाई सम्बोधन गरेपछि रावल एमालेमा नरहने चर्चा बढेको छ।यस्तोमा उहाँलाई मंगलबार धनगढीमा पत्रकारहरुले एमाले छोड्न लागेकोबारे प्रश्न गर्नुभएको थियो। उहाँले आफू आजका दिनसम्म पनि एमालेमै रहेको जवाफ दिनुभयो।

‘म अहिलेसम्म नेकपा एमालेको सदस्य हुँ। तर तँ अब एमालेको सदस्य बन्न मिल्दैन, तैँले राष्ट्रियताको कुरा उठाउन थालिस्, पार्टीमा विधि पद्धतिको कुरा गर्छस् भनेर घचेटेक घचेट्यै गरेमा एमालेका इमानदार कार्यकर्ता र जनतासँग सोध्नेछु। त्यति बेला किन घचेटी मागिरहने, उभिनुस् भन्ने जवाफ आएमा नयाँ पाइला चाल्न सक्ने सम्भावना छु,’ उहाँले पत्रकारहरुलाई जवाफमा भन्नुभयो।

तर आफू एमालेमै रहन संघर्षरत रहेको उहाँले बताउनुभयो। नेता रावलले एमाले उपाध्यक्ष विष्णु पौडेलसहितका नेताहरु आफूविरुद्ध कार्यकर्ता उचाल्न आफ्नो गृहजिल्ला पुगेको पनि दाबी गर्नुभयो ।

उहाँले धनगढीमा पत्रकार सम्मेलनका क्रममा उपाध्यक्ष पौडेलप्रति आक्रोश पोख्दै अछाममा २०४८ सालदेखि चुनाव लड्दै आएको बताउनुभयो। रावलले कहिल्यै पनि कसैसँग टिकट नमागेको बताउँदै पौडेलतिर कटाक्ष गर्नुभयो। उहाँले पार्टीका शीर्ष नेताहरुलेनै आफूहरुविरुद्ध आक्षेप लगाएपछि कार्यकर्ताले विरोध गर्नुलाई स्वाभाविक भन्नुभएको छ।

‘अछामको मेरै निर्वाचन क्षेत्रमा कार्यक्रम भयो। पार्टीका सिद्धान्त, विचार लगायतबारे जानकारी दिने उद्देश्य थियो। पहिले नै कुनै विवाद नगर्ने सहमति भएको रहेछ। पार्टीलाई बलियो बनाएर कसरी जाने भन्ने कुरा थियो,’ रावलले भन्नुभयो, ‘तर, त्यस कार्यक्रममा एक व्यक्तिले मलाई नै सोझ्याएर प्रहार गरेछन्। त्यसपछि त्यहाँ कार्यकर्ताले विरोध गरेका हुन्। सहभागी ८० प्रतिशतभन्दा बढीले विरोध गर्नु स्वाभाविक हो।’

उहाँले एमालेका शीर्ष नेताहरु नै पार्टीलाई मजबुत र एकताबद्ध बनाउन लागेका व्यक्तिमाथि आक्षेप र भ्रम बाँड्दै हिँडेको भन्दै आपत्ति प्रकट गनुभयो।
‘सल्लाहकार समिति सदस्य डडेलधुराका पदमराज जोशीले मेरा विरुद्ध बोलेपछि सहभागी कार्यकर्ताहरूले नाराबाजी थालेका थिए,’ उहाँले भन्नुभयो, ‘आक्रोशित कार्यकर्ताले मञ्चमा कुर्सीसमेत प्रहार गरेका थिए। त्यहाँ एक घण्टासम्म विरोध चलेको कुरा मैलै सञ्चार माध्यमबाट थाहा पाएँ।’

यस्तै रावलले एमाले उपाध्यक्ष पौडेल अछाम आउन लागेको जानकारी नदिइएको बताउनुभयो। ‘यदि मलाई विष्णु पौडेलले म आउँदै छु भनेको भए निश्चित रुपमा मेरो जिल्लामा स्वागत गर्न जाने थिएँ,’ उहाँले भन्नुभयो।