नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भूमिका महत्त्वपूर्ण : सभामुख घिमिरे

0
Shares

काठमाडौँ। 

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल नेत्रज्योति संघको ४५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बाधेन गर्दै वहाँले यस्तो बताउनु भएको हो ।

‘सन् १९८१ मा ०.८४ प्रतिशत रहेको नेपालको अन्धोपनाको स्थिति अहिले घटेर ०.२८ प्रतिशतमा झरेको छ । नेपालको यो उपलब्धिको प्रमुख र महत्त्वपूर्ण हिस्सेदारका रुपमा मैले नेत्रज्योति संघलाई मानेको छु’ वहाँले भन्नुभयो­‘नेपालको आँखा स्वास्थ्य क्षेत्रमा संघले खेलेको भूमिकाको जति प्रशंसा गरेपनि कमै हुन्छ ।’
कुखुरा र माछाको उदाहरण दिँदै सभामुख घिमिरेले कुखुराले जसरी एउटा अण्डा पार्दा पनि गाँउ नै हल्लिने गरी हल्ला गर्छ तर माछाले पानी भित्र हजारौ अण्डा पार्दा समेत कसैले थाहा पाउदैनन त्यसरी नै संघले नेपालको आँखा स्वास्थ्य क्षेत्रमा काम गरिरहेको बताउनु भयो ।

नेपाल नेत्रज्योति संघ विगत ४५ वर्षदेखि नेपाली जनताहरुलाई सस्तो, सुलभ र गुणस्तरीय आँखा उपचार सेवा जनताको घर आगनमै पुर्याउदै नेपालको अन्धोपन न्यूनीकरणमा क्रियाशील एक मुनाफारहित, गैरसरकारी विशुद्ध सामाजिक संस्था हो ।

वि.सं. २०३५ साल चैत्र १३ गते आजैका दिन समाजका विभिन्न क्षेत्रका विशिष्ट समाजसेवीहरु तथा प्रा.डा रामप्रसाद पोख्रेल ‘आँखा बा’ को सामूहिक प्रयासबाट स्थापना भएको यस संघले देशका (लगभग ९० प्रतिशत) नेपाली नागरिकमा सस्तो, सुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । नेपाल सरकारबाट आँखा उपचार सेवा देशका सबै जनताको घरदैलोमा पुर्‍याउने दायित्व र निर्देशन प्राप्त भए अनुरुप नेपालको सबै क्षेत्रहरुलाई समेटने गरी २७ आँखा अस्पतालहरु, १ सय ५० भन्दा बढी आँखा उपचार केन्द्रहरु तथा ४४ जिल्ला शाखाहरु मार्फत यसले सेवा प्रवाह गरिरहेको छ ।

सन् २०२२ मा संघले आफ्नो मातहतका आँखा अस्पताल, उपचार केन्द्रहरुका साथै विभिन्न बाह्य कार्यक्रमका माध्यमबाट कुल ३० लाख ७ हजार २ सय ९१ जनाको आँखा जाँच तथा उपचार गर्नुका साथै २ लाख ७२ हजार ९ सय ५० जनाको आँखाको शल्यक्रिया गर्न सफल भएको थियो । संघले विद्यालय आँखा जाँच कार्यक्रम मार्फत सन् २०१८ लेखि २०२२ सम्ममा देशका विभिन्न विद्यालयहरुमा अध्ययनरत १० लाख भन्दा बढी विद्यार्थीहरुको नि:शुल्क आँखा जाँच गरी हजारौ विद्यार्थीहरुलाई  नि:शुल्क चश्मा वितरण गरिसकेको छ भने ५ सय ५० जना बिद्यार्थिहरुको नि:शुल्क शल्यक्रिया समेत गरिएको छ ।

यस वर्ष नेत्रज्योति दिवसको नारा “हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी” भन्ने रहेको छ । यस नारालाई साकार पार्न संघले विभिन्न कार्यक्रमहरु तय गरेको छ । नेपालको संविधान २०७२ ले स्वास्थ्यलाई नागरिकको मौलिकहकको रुपमा उल्लेख गरेको तथा विश्व स्वास्थ्य संगठनले आँखा स्वास्थ्य सेवालाई आधारभूत स्वास्थ्य सेवाको रुपमा ग्रहण गरेको सन्दर्भमा, सार्वजनिक निजी साझेदारीको अवधारणा बमोजिम उपलब्ध श्रोत र साधनको अधिकतम परिचालन गरी हालसम्म प्राप्त उपलव्धिहरुलाई संरक्षण गर्दै राष्ट्रिय आँखा स्वास्थ्य रणनितीलाई समेत आत्मसात गर्दै आँखा उपचार सेवालाई हरेक स्थानीय निकायहरुसम्म पुर्‍याउने लक्ष्य लिएको जनाएको छ ।

संघले सन् २०२३ देखि २०३० सम्मको रणनितिक योजना तयार पारिरहेको छ । उक्त रणनितीक योजनाले नेपालमा बढी भन्दा बढी मानिसहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै नेपाललाई आँखा उपचारको पर्यटन गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य लिएको छ । यसका साथै संघले आफु अन्तरगत सञ्चालनमा रहेका आँखा अस्पतालहरु तथा उपचार केन्द्रहरुलाई हरित अस्पतालका रुपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ ।

नेपाल नेत्रज्योति संघले नेत्रज्योति दिवसको अवसरमा संघको अन्धोपन निवारण गर्ने उद्देश्य प्राप्तिमा विशेष योगदान दिनुहुने चौधरी दाता परिवारलाई ‘विशिष्ट नेत्रज्योति सम्मान’ बाट सम्मानित गरिएको छ । साथै नेपालमा आँखा उपचार सेवाको विस्तार र अन्धोपन न्यूनीकरणमा सहयोग गर्ने सेवा फाउन्डेसन, सेवा क्यानडा सोसाइटी र दुहबी नगरपालिकालाई पनि ‘विशिष्ट नेत्रज्योति सम्मान’ बाट सम्मानित गरियो ।

त्यस्तै अन्धोपन न्यूनीकरण गर्ने योजनामा विशेष योगदान गर्नुहुने नेपाल नेत्रज्योति संघका लुम्बिनी प्रदेश सभापति तथा रुपन्देहि शाखाका निवर्तमान सभापति सागरप्रताप राणा, नेत्र ज्योतिसंघ चितवन शाखाका पुर्बसभापति एबं केन्द्रिय सदस्य चिजकुमार मास्के, नेत्रज्योति संघ कैलाली शाखाका पुर्बसभापति शिवदत्त जोशी, नेत्रज्योति संघ फत्तेबाल आँखा अस्पताल नेपालगंजका पुर्व मेडिकल डाईरेक्टर बरिष्ठ नेत्ररोग बिशेषज्ञ डा.बासु अधिकारी र नेत्रज्योति संघ रणअम्बिका शाह आँखा अस्पताल भैरहवाका पुर्व मेडिकल डाईरेक्टर बरिष्ठ नेत्ररोग बिशेषज्ञ डा. सुदर्शनप्रसाद धिताललाई ‘लाईफटाइम एचिभ्मेन्ट अवार्ड’ बाट सम्मानित गरियो ।

त्यस्तै २५ बर्षदेखि निरन्तर नेपाल नेत्रज्योति संघ र यस अन्तरगतका अस्पतालमा रहि कार्य गर्दै आएकोले संघका आँखा स्वास्थ्य कार्यकर्ता गोबिन्द शर्मालाई दीर्घ सेवा पदक प्रदान गरियो ।

साथै संघ अन्तर्गतका अस्पतालमा कार्यरत कर्मचरीहरुका बिचमा आयोजना गरिएको नेपालमा आँखा स्वास्थ्यका समस्या, चुनौती र स्थानियको भूमिका विषयक राष्ट्रव्यापी निबन्ध लेखन प्रतियोगिता लेखन प्रतियोतामा किर्तिपुर आँखा अस्पतालकी दुर्गादेबी श्रेष्ठ प्रथम, इटहरी आँखा अस्पतालका उमाशंकर पटेल द्धितिय र गौर आँखा अस्पतालका दिनेश घिमिरे तृतीय भएका थिए ।