निजामती अस्पतालको आन्दोलन फिर्ता, कर्मचारी र सरकारबीच सम्झौता



काठमाडौँ।

निजामती कर्मचारी अस्पतालमा बिगत १४ दिनदेखिको आन्दोलन फिर्ता भएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा अस्पताल प्रशासन र आन्दोलनरत पक्षबीच सोमबार ६ बुँदे सहमति भएसँगै आन्दोलन फिर्ता भएको हो ।

सहमतिमा निजामती कर्मचारी अस्पताल (कर्मचारीहरुको सेवाका शर्त र सुविधा) विनियमावली र निजामती कर्मचारी अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षणमा आवश्यक संशोधन तथा परिमार्जन प्रक्रिया १ महिनाभित्र पेश गर्ने र सो क्रममा चिकित्सक, कर्मचारी युनियन लगायतको प्रतिनिधि समेत सहभागी गराउने उल्लेख गरिएको छ ।

यस्तै अस्पतालको समग्र गुणस्तर, वित्तियस्थिति, जनशक्ति योजना, कर्मचारीको हित र उत्प्रेरणासमेतलाई मध्यनजर गरी अस्पताल व्यवस्थापन चिकित्सक र कर्मचारी सम्मिलित समितिको प्रतिवेदनको आधारमा स्वीकृत करार कार्यविधिबमोजिम हाल करारमा कार्यरत (परीक्षामा सहभागी नहुने समेत) चिकित्सक र कर्मचारी प्राथमिकता दिई सेवाको सुनिश्चितता गर्न निजामती कर्मचारी अस्पताल विकास समितिमा पेश गर्ने सहमति भएको छ ।

यसैगरी सहमतिमा अस्पतालको समग्र गुणस्तर सुधारको लागि सम्बद्ध सरोकारवालाहरुको सहभागितामा क्वालिटी सर्कल बनाई कार्यान्वयन गर्ने, ज्यालादारी तथा सेसनमा कार्यरत कर्मचारीको सम्बन्धमा कार्यरत कर्मचारीलाई प्राथमिकतामा राखी स्वीकृत करार कार्यविधि, २०७८ अनुसार स्वीकृत दरवन्दिमा पदपूर्ती प्रक्रिया अगाडि बढाउने उल्लेख छ ।

अस्पतालको समग्र गुणस्तर, सेवाप्रवाहमा सुधार र सेवाप्रवाहमा निरन्तरता दिने तथा अस्पतालमा हाल भैरहेको अनसन, तालाबन्दी लगायतका आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने सहमति भएको छ ।

निजामती कर्मचारी अस्पतालमा नयाँ कर्मचारी माग गर्दै विज्ञापन गरेको बिषयमा विज्ञापन फिर्ता लिन दबाब दिँदै अस्पतालका कर्मचारीहरुले बिगत १४ दिनदेखिको विभिन्न बिरोधका कार्यक्रम सहित आन्दोलन गर्दै आएका थिए ।

सहमति पत्र:

प्रतिक्रिया दिनुहोस्