मूर्तिकला नै रामप्रसादको जीवन

0
Shares

हेटौंडा।

बाराको निजगढ वडा-६ स्थायी घर भएका करिब ४६ वर्षीय रामप्रसाद तिमल्सिनाले हेटौंडाको जुरेथुममा भगवान् कृष्णको ५२ फिट अग्लो पूर्णकदको मूर्ति बनाएका छन्। नेपाली मूर्तिकारले बनाएको उक्त मूर्ति नेपालमा सबभन्दा अग्लो कृष्णको मूर्ति भएको उनको दाबी छ।

मूर्ति निर्माणको सम्पूर्ण काम सकिएको र रंगरोगनसमेत भइसकेको उनले जानकारी गराए। सानैदेखि मूर्तिकलामा रुचि राख्ने उनले २ कक्षामा पढ्दादेखि नै माटोका सुन्दर मूर्ति बनाउने गर्थे। आठ कक्षामा पढ्दा विद्यालयमा आकर्षक सरस्वतीको मूर्ति बनाएर शिक्षक, विद्यार्थीबाट स्याबासी पाएको उनी स्मरण गर्छन्। कक्षामा दिएको कापी पूरै चित्र बनाएर भर्ने गरेको बाल्यकालको उनले स्मरण गरे। प्यागोडा शैलीको मन्दिर, गेट, जनावर, देवीदेवताका मूर्ति बनाउनु उनको विशेष सीप हो।

बिनातालिम सबै प्रकारका आकर्षक मूर्ति बनाउने उनमा अद्वितीय कला छ। उनले नेपालका विभिन्न ठाउँमा १६ फिट अग्लोसम्मका तीनवटा हुन् । मानको मूर्ति बनाइसकेका छन् भने अन्य कयौं साना मूर्ति बनाएर अर्थोपार्जन गरेका उनले अमृत सिमेन्ट सामग्री उद्योगको नाममा व्यवसाय दर्ता गरेर मूर्ति बनाउने कामलाई निरन्तरता दिंदै आएका छन्।

मूर्तिकलाको प्ररेणाको स्रोतको रुपमा उनी आमालाई सम्झिन्छन् । उनकी आमामा देवीदेवताप्रति अति भक्ति थियो। देवीदेवताको मूर्ति देखाउँदै आमाले माटोको मूर्ति बनाउन प्रेरित गरेको उनी सम्झन्छन । आमाको प्रेरणामा माटोका मूर्ति बनाउने तिमल्सिना हाल मूर्ति निर्माणलाई पेशा बनाइरहेका छन्। भन्छन् मूर्तिकला मेरो जीवन हो। यस काममा मलाई निकै आनन्द आउँछ। जीवनभर मूर्तिकलामै लागिरहन्छु ।

कृष्णको मूर्तिको द्वारमा दुईवटा चुच्चो जुधाएर बसेका मयूरको मूर्ति बनाइएको छ। करिब १५ लाख रुपियाँ लागतमा मूर्ति निर्माण भएको हो। मूर्ति हेटौंडा बजारको केन्द्रबाट करिब १२ किलोमिटर दक्षिणपूर्वमा जुरेथुमडाँडामा अवस्थित छ।