तरुण दललाई पहिलो नम्बरको संगठन बनाउन डा आरजु राणाको निर्देशन

0
Shares

बनेपा ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले पार्टी र तरुण दललाई पहिलो नम्बरको सङ्गठन बनाउन निरन्तर क्रियाशील भएर काम गर्न तरुण दललाई निर्देशन दिनुभएको छ ।

नेपाल तरुण दल जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकले आज बनेपामा आयोजना गरेको ‘बृहत् तरुण भेला’मा उहाँले पार्टी र सङ्गठन बलियो बनाउन निरन्तर खट्नुपर्ने बताउनुभयो ।

अहिले राजनीतिक परिस्थिति फरक भएका कारण गठबन्धन गरेर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै उहाँले पार्टीभित्र एकता बढाउन सकेमा एक नम्बरको पार्टी बनाउन सकिने उहाँले बताउनुभयो ।

“अब पार्टीलाई पहिलो बनाउनका लागि हरक्षण कसरी सक्रिय बनाउन सकिन्छ भन्ने विषय तरुणहरूका लागि चुनौती हो”, उहाँले भन्नुभयो, “भोट हाल्ने दिनमा घण्टी, हलो र सूर्यलाई हाल्ने अनि अरु बेला कांग्रेस भनेर हिँड्नुको अर्थ छैन ।”

अरु जिल्लामा घण्टी कांग्रेस धेरै सुनेको भए पनि काभ्रेपलाञ्चोक जिल्लामा सूर्यमुखी कांग्रेस धेरै भएको उहाँको भनाइ थियो । पार्टीलाई एकताबद्ध बनाउनका लागि तरुण दलले भूमिका खेल्न आवश्यक रहेको उहाँले धारणा राख्नुभयो ।

तरुण दल पार्टीको मेरुदण्ड भएको र जनतालाई कांग्रेसको सोचको पक्षमा उभ्याउँदै राष्ट्रप्रतिको समर्पित भाव, लोकतन्त्र तथा समाजवादप्रतिको आस्थालाई एकत्रित गर्नका लागि सङ्गठन एकढिक्का भएर लाग्न आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

सो क्रममा उहाँले कोभिडका कारण समस्यामा पुगेको अर्थतन्त्र उकास्नका लागि योजना ल्याएर सरकारलाई सहयोग गर्नसमेत उहाँले सुझाव दिनुभयो ।