जगदम्बा जीतपुरसिमरा गोल्डकपको तयारी

0
Shares

बारा । मोफसलकै प्रतिष्ठित फूटवल प्रतियोगिता जगदम्बा जीतपुरसिमरा गोल्डकपको १३औं संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ ।

चैत्र ९ गतेदेखि सुरु हुने प्रतियोगिताका लागि यतिबेला रंगशालामा अन्तिम तयारी भइरहेको छ । उद्घाटन समारोहलाई लक्षित गर्दै आयोजक नवजनजागृति युवा क्लबले रंगशालामा मञ्च व्यवस्थापन, प्यारापीट रंगरोगनको काम गरिरहेको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । लामाका अनुसार प्रतियोगितामा ए डिभिजनका पाँचसहित १० टिमले सहभागिता जनाउने निश्चित भएको छ ।

साविक विजेता न्युरोड कर्नर टिम (एनआरटी), उपविजेता नेपाल एपीएफ क्लब, चर्च ब्वाईज, सातदोबाटो युथ क्लब, हिमालयन शेर्पा क्लब, मोफसलका वीरगन्ज युनाइडेड क्लब, मकवानपुर ११, बागमती युवा क्लब, केबीए ग्लोबल चितवन र आयोजकले प्रतियोगितामा सहभागिता जनाउनेछन् । चैत्र १८ गतेसम्म संचालन हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक र चितवनबीच हुने भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका मुख्य सहयोगी र जगदम्बा स्टील्स् प्रालि मुख्य प्रायोजक रहेको प्र्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछन् ।

विधागत पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल, उत्कृष्ट गोलरक्षक, मिडफिल्ड, डिफेन्स, फरवार्ड, प्रशिक्षक, सर्वाधिक गोलकर्ताले जनही २० हजार प्राप्त गर्नेछन् भने उदयीमान खेलाडीले नगद १५ हजार पाउनेछन् ।

प्रतियोगिताको सम्पूर्ण खेल फ्लड लाईटमा हुनेछन् । पछिल्लो दुई वर्षदेखि सिमरा रंगशालामा रात्री समयमा खेल भईरहेको छ । गर्मी मौसम र दर्शकलाई लक्षित गर्दै आयोजकले फ्लड लाईटमा खेल संचालन गर्न थालेको हो ।

रात्रीको समयमा खेल हुँदा दर्शकको बाक्लो उपस्थिति हुँदै भएको छ । आयोजकले प्रतियोगिता संचालन गर्न अनुमानित एक करोड ६ लाख रुपैया खर्च हुने जनाएको छ । प्रतियोगितालाई जीतपुरसिमरा उपमहानगरपालिका, जगदम्बा स्टील्स्सहित स्थानीय कलकारखाना, उद्योगी, व्यवसायी र स्थानीयले सहयोग गरेका छन् ।