वन डढेलो नियन्त्रण गर्नुपर्नेमा सरोकारवालाको जोड

0
Shares

म्याग्दी ।

म्याग्दीको सदरमुकाम बेनीमा आज (सोमबार) वन डढेलो नियन्त्रणसम्बन्धी जिल्लास्तरीय समन्वय बैठक सम्पन्न भएको छ । डिभिजन वन कार्यालय म्याग्दीको आयोजनामा वन डढेलो व्यवस्थापन सचेतना सप्ताह अन्तर्गत समन्वय बैठकसहित आगलागी नियन्त्रणको अभ्यास गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले म्याग्दीको कुल भूगोलको ६० प्रतिशत वनजङ्गल क्षेत्र भिरालो भएकाले डढेलोको उच्च जोखिम रहेको बताउनुभयो । उहाँले सामुदायिक वन क्षेत्रमा लाग्ने डढेलो तथा आगलागीलाई नियन्त्रण गर्नका लागि सबै पक्ष चनाखो भएर लाग्नुपर्ने बताउँदै वनमा डढेलो र आगो लगाउनेहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभयो ।

कार्यक्रममाथि सहजीकरण गर्दै डिभिजन वन कार्यालय म्याग्दीका निमित्त डिभिजनल वन अधिकृत मनोज रानाभाटले वन डढेलो र आगलागी नियन्त्रण गर्न सरोकारवाला निकाय सबै लाग्नुपर्ने बताउनुभएको थियो । कार्यक्रममा सहभागी वन क्षेत्रका सरोकारवालाहरुले जथाभावी रुपमा वनजङ्गल क्षेत्रमा लाग्ने आगलागीलाई नियन्त्रणमा लिनुपर्ने र समुदायमा सचेतना फैलाउन आवश्यक रहेकोमा जोड दिएका थिए । उनीहरुले स्थानीय तहले वन क्षेत्रको जग्गा भाडामा लगाउन नहुने, वनजङ्गलको पातपतिङ्गरको व्यवस्थापन गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रमको अवसरमा डिभिजन वन कार्यालय म्याग्दीले जिल्ला प्रहरी कार्यालय म्याग्दीमार्फत इलाका प्रहरी कार्यालय दरबाङलाई आगलागी नियन्त्रण गर्न आवश्यक बेल्चा, हेल्मेट, ड्रेसलगायत सामानहरु हस्तान्तरण गरेको थियो । उक्त सामानहरु जिसस प्रमुख थापा र म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले प्रहरी नायव उपरीक्षक मदन कुँबरलाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रम निमित्त डिभिजनल वन अधिकृत रानाभाटको अध्यक्षता र सहायक वन अधिकृत नरबहादुर क्षत्रीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रमको अवसरमा डिभिजन वन कार्यालयको तालिम हल परिसरमा आगो लगाएर कृत्रिम अभ्यास समेत गरेर नियन्त्रणमा लिइएको थियो ।