प्रचण्डप्रति विश्वासको मत वृद्धि हुँदै

0
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति विश्वासको मत वृद्धि हुने भएको छ । संसद्बाट आज सोमबार विश्वासको मत लिने तयारीमा रहेका दाहालको पक्षमा गठबन्धनमा आबद्ध दलहरूबाहेक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समेत मत दिने निर्णय गरेपछि विश्वासको मत संख्या वृद्धि हुने पक्का भएको हो ।

प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको (रास्वपा)ले समेत प्रधानमन्त्रीको पक्षमा मतदान गर्ने भएपछि प्रचण्डले सहज विश्वास प्राप्त गर्ने अवस्थामा पुग्नुभएको नेताहरूले बताएका छन् । गत पुस २६ मा विश्वासको मत लिँदा पनि गठबन्धन भत्काएर हिँडेका प्रचण्डलाई नेपाली कांग्रेससहितको विश्वास पाएको थियो । रास्वपाले अहिले सरकार छाडे पनि भविष्यमा यही सरकारमा जान सक्ने बाटो कायम राख्दै विश्वासको मत दिने निर्णय गरेको रास्वपाका एक नेताले बताए । यद्यपि, रास्वपाले सरकारमा जाने विषयमा केही बोलेका छैन । प्रधानमन्त्री र गठबन्धनका मुख्य दल नेपाली कांग्रेससहितले सरकारमा राख्न चाहे रास्वपा अहिले नै सरकारमा जाने आन्तरिक तयारी भने गरिनै रहेको छ । यसैकारण सरकारमा सहभागी भएको करिब डेढ महिनामै सरकार छाडेको उक्त दलले प्रचण्डलाई मतदान गर्ने निर्णय गरेको राजनीतिक वृत्तमा चर्चा छ ।

आइतबार बसेको रास्वपाको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएको पार्टी सचेतक सन्तोष परियारले बताउनुभयो । योसँगै संसद्मा कायम रहेका नेकपा एमाले र राप्रपा र नेमकिपाबाहेक सबै दलले दाहाललाई विश्वासको मत दिने पक्षमा देखिन्छन् । प्रधानमन्त्री दाहालले विश्वासको मत माग्ने समयसम्म राजनीतिक उतारचढाव नभए संसद्का १० भन्दा बढी दलले विश्वासको मत दिने नेकपा माओवादीले विश्वास व्यक्त गरेको छ । माओवादी केन्द्रका सचिव राम कार्कीले भन्नुभयो– ‘संसद्मा सहभागी दलहरूमध्ये एमालेबाहेक अधिकांश दलहरूले प्रधानमन्त्री प्रचण्डका पक्षमा मत दिने हामीले विश्वास लिएका छौं । राप्रपाले पनि अन्तिमसम्ममा सरकारलाई विश्वासको मत दिन सक्छ अहिलेसम्म दिन्नँ भनेको छैन ।’

प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीलगायत गठबन्धनमा आबद्ध आठ दलहरूसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लेसमेत साथ दिने निर्णय गरेसँगै प्रचण्ड सहज बहुमतमा रहनुहुनेछ ।

गत पुस १० मा सात दलीय गठबन्धन बनाएर सरकारको नेतृत्वमा पुगेका प्रचण्डलाई एमाले र राप्रपाले विश्वासको मतसहित सरकार छाडेपछि पुनः विश्वासको मत माग्नुपरेको छ । आम निर्वाचनसम्म कायम रहेको कांग्रेस, माओवादी, नेकपा एस, लोसपा र जनमोर्चासहितको पाँच दलीय गठबन्धनमा कांग्रेस र माओवादीबीच को पहिलो प्रधानमन्त्री हुने भन्ने विषयमा कुरा नमिल्दा प्रचण्ड पुरानो गठबन्धन छाडेर एमालेसहितको नयाँ गठबन्धन बनाउँदै सरकारको नेतृत्वमा प्रवेश गर्नुभएको थियो ।

सरकार गठनको दुई हप्तामा प्रतिपक्षी दल कांग्रेसको समेत मत लिँदै संसद्को २६८ मत प्राप्त गरेका दाहालले राष्ट्रपतिको निर्वाचनमा एमालेसँगको गठबन्धन भत्काए ९ हप्तामै पुनः दोस्रोपटक विश्वासको मत माग्ने तयारी गर्नुभएको हो । उहाँलाई नेपाली कांग्रेसले विश्वासको मत दिने बताएको छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नेपालको संविधानको धारा १०० को (२) बमोजिम नेपाली कांग्रेस प्रधानमन्त्रीले प्रस्तुत गर्ने विश्वासको मतको प्रस्तावको पक्षमा रहने बताउनुभयो । आइतबार बसेको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरिसकेको उहाँले जानकारी दिनुभयो । प्रमुख सचेतक लेखकले भन्नुभयो– ‘कांग्रेसले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । आफ्ना सांसदहरूलाई पनि पार्टीको संसदीय दलको निर्णयको पालना गर्न ह्विप जारी गर्ने र प्रधानमन्त्रीले विश्वासको मत लिइसकेपछि मात्रै कांग्रेस सरकारमा सहभागी हुने निर्णय भएको छ ।’

नेपालको संविधानको धारा १०० को (२) बमोजिम प्रधानमन्त्री दाहालले सोमबार विश्वासको मतका लागि प्रतिनिधि सभामा प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । नेपाली कांग्रेस प्रधानमन्त्रीले प्रस्तुत गर्ने विश्वासको मतको प्रस्तावको पक्षमा रहने कांग्रेस कार्यसम्पादन समितिको निर्णय भएको लेखकले बताउनुभयो । आइतबारको संसद् बैठकबाट नेपाली कांग्रेस सत्ता पक्ष सिटमा बसेको छ ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको जनाएको छ । आइतबार बसेको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने र पार्टीका सांसद संसद्मा अब सत्तापक्षमा बस्ने निर्णय गरेको नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिने र अबदेखि सत्तापक्षमा बस्ने निर्णय भएको छ,’ उहाँले भन्नुभयोे– ‘सरकारमा जाने विषयमा समेत बैठकले निर्णय गरेको छ ।’

सत्ता गठबन्धनमा सहभागी जसपा, जनमत, नागरिक उन्मुक्ति, लोसपा, जनमोर्चा, आमजनता पार्टीलगायतका दलहरूले पनि प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावका पक्षमा उभिने जनाएका छन् । यी दलका सबै सांसदले विश्वासको मत दिएको खण्डमा पहिलोपटक २ सय ६८ मत पाएका प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक १ सय ७७ सहितको बहुमत प्राप्त गर्नुहुनेछ । संसद्मा बहुमत प्राप्त गर्नका लागि १ सय ३८ आवश्यक पर्दछ । प्रधानमन्त्री प्रचण्डले भने आफूले सोमबारको प्रतिनिधि सभा बैठकबाट सय प्रतिशत सांसदहरूको विश्वासको मत पाउने आशा राखेको बताउनुभएको छ ।

पक्षमा

नेपाली कांग्रेस – ८८
नेकपा (माओवादी केन्द्र) – ३२
राष्ट्रिय स्वतन्त्र पार्टी – १९
जनता समाजवादी पार्टी – १२
नेकपा एकीकृत समाजवादी पार्टी – १०
जनमत पार्टी – ६
नागरिक उन्मुक्ति पार्टी – ४
लोकतान्त्रिक समाजवादी – ४
राष्ट्रिय जनमोर्चा – १
आम जनता पार्टी – १
जम्मा – १७७

विपक्षमा

नेकपा एमाले – ७८
राष्ट्रिय प्रजातन्त्र पार्टी – १४
नेपाल मजदुर किसान पार्टी – १
जम्मा ९३
अन्य – ३
अन्य खारेज – २