निर्वाचन वर्षको निर्वाचन चक्र पूरा

0
Shares

काठमाडौं । उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै निर्वाचनका माध्यमबाट पदपूर्ति गर्ने कार्य सकिएको छ ।

संविधानबमोजिम निर्वाचनका माध्यमबाट राज्यका महत्वपूर्णमा पदमा पूर्ति गर्ने कार्य सकिएको निर्वाचन वर्ष २०७९ को सबै चक्र पूरा भएको निर्वाचन आयोगले जनाएको छ । शुक्रबार उपराष्ट्रपतिको निर्वाचनमा ३० हजार ३ सय २८ मतभार प्राप्त गरी उपराष्ट्रपतिको उम्मेदवार रामसहायप्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलको समर्थन पाएका यादवलाई १ सय ८४ संघीय सांसद र ३ सय २९ प्रदेशसभा सदस्यले मत दिएका थिए ।

नेकपा (एमाले) का उम्मेदवार अष्टलक्ष्मी शाक्य (बोहरा) ले १ सय ६९ प्रदेशसभा सदस्य र १०४ संघीय सांसदको मत पाउनुभएको थियो । उहाँले पाउनुभएको मतभार १६ हजार ३ सय २८ रहेको थियो । जनमत पार्टीकी उम्मेदवार ममता झालाई २३ संघीय सांसद र १५ प्रदेशसभा सदस्यले मत दिएका थिए । उहाँले पाएको मतभार कुल २ हजार ३ सय ३७ रहेको थियो । उहाँले १६ हजार ३ सय २८ मतभार पाउनुभएको थियो । प्रमिला कुमारीले ४८ मतभार प्राप्त गर्नुभएको थियो । निर्वाचनमा ३ सय ११ संघीय सांसद र ५ सय १८ प्रदेशसभा सदस्यले मतदान गर्नुभएको थियो । विजयी उम्मेदवार यादवलाई निर्वाचन अधिकृतको कार्यालय, नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभयो ।

संविधान जारी भएपछि संघ, प्रदेश र स्थानीय तह, राष्ट्रपति र उपराष्ट्रपतिको दोस्रो कार्यकालका लागि सबै निर्वाचन पूरा भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभयो ।

गत वैशाख ३० गते र प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन मंसिर ४ गते सम्पन्न भएको थियो । गत फागुन २५ गते राष्ट्रपतिको निर्वाचन भएको थियो । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका उम्मेदवार रामसहायप्रसाद यादव निर्वाचित भएसँगै आवधिक निर्वाचन गर्नुपर्ने संवैधानिक दायित्व पूरा भएको प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ रहेको छ ।

आयोगका अनुसार स्थानीय तहको निर्वाचनबाट करिब ४१ हजार जनप्रतिनिधि निर्वाचित भई स्थानीय तह सञ्चालनको जिम्मेवारी निर्वाह गरिरहेका छन् । त्यस्तै, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनबाट प्रतिनिधिसभातर्फ २ सय ७५ र प्रदेश सभातर्फ ५ सय ५० गरी कुल ८ सय २५ जना सदस्यहरू निर्वाचित भएका थिए ।

संविधानले निर्वाचनलाई मूर्तरूप दिन निर्वाचनको समग्र पक्षलाई व्यवस्थापन, सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने जिम्मेवारी आयोगलाई दिएको उल्लेख गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले सबैको सहयोग, समन्वय, सहयोग र सहकार्यमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘आवधिक निर्वाचनले लोकतान्त्रिक शासन व्यवस्थालाई बलियो बनाउँदै लग्ने छ ।’ यी सबै अभ्यासबाट भएका सिकाइ, अनुभव र उपलब्धिहरूलाई संस्थागत गर्दै नयाँ निर्वाचन कानुनको मस्यौदा तयार गर्ने पनि प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ रहेको छ ।

यसैबीच आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम उपराष्ट्रपतिको निर्वाचनको परिणामसहितको प्रतिवेदन आज आइतबार राष्ट्रपतिसमक्ष पेस गर्ने गर्ने छ । त्यसपछि उपराष्ट्रपतिले राष्ट्रपतिबाट शपथ लिने संवैधानिक व्यवस्था छ । नेपालको संविधानअनुसार नेपालको राष्ट्रप्रमुखका रूपमा रहने राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिले कार्यभार सम्हाल्नेछन् ।