बोरा ओढेर झापाका किसान सडकमा

0
Shares

भद्रपुर ।

सरकारले रसायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाएको बिरोधमा झापाका किसानहरुले बोरा ओढेर प्रदर्शन गरेका छन् ।

हातमा राष्ट्रिय झण्डा बोकेर शुक्रबार विर्तामोड सडकमा उत्रिएका उनिहरुले रसायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाउने निणर्य फिर्ता गर, किसानलाई समयमै मलखाद उपलब्ध गर, किसानको आँसुमा पौडी नखेल, बिना ब्याज , बिना धितो कृषी ऋण उपलब्ध गरा लगायतका नारा लगाउदै प्ले कार्ड प्रदर्शन गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कमिटी झापाको आब्हानमा भएको प्रदर्शनमा झापाका बिभिन्न पालिकाका किसानहरुले सहभागिता जनाएको राष्ट्रिय स्वतन्त्र पार्टी झापाका सभापति उमेश खरेलले जानकारी दिनुभयो ।प्रदर्शनपछि बिर्तामोडको मुक्तिचोकमा कोणसभा भएको थियो । कोणसभामा पार्टीका झापा सभापति खरेलले प्रदर्शन गर्नुपर्ने कारणहरुका बारेमा जानकारी गराउँनुभएको थियो । किसानलाई पर्न गएको मर्काको बिषयमा कँही कतै आवज नउठाएकोले झापाबाट राष्ट्रिय झण्डाकासाथ बिरोध र आन्दोलनको थालनी गरेको उहाँले बताउँनुभयो ।

कोणसभालाई राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु शम्भु सुस्केरा ढकाल, प्रकाश पाठक र सुरेश कुमार पोखरेललगायतले सम्बोधन गर्नुभएको थियो । उहाँहरुले राष्ट्रलाई नै पाल्ने भुमिका निर्वाह गरेका किसानहरुलाई राज्यले आर्थिक विभेद र दमन गरेको भन्दै अनुदान कटौति तत्काल फिर्ता गरी किसानहरुलाई थप राहतका कार्यक्रमहरु ल्याउन माग गर्नुभयो । उहाँहरुले कृिष बिमा निःशुल्क गर्न, ५० प्रतिशत भन्दाबढी अनुदान दिन, कृषि उत्पादन बढाउन र कृिष उद्योग स्थापना गर्न माग गरेका थिए । गत फागुन २९ गते कृषि तथा पशुपञ्छी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको बैठकले अनुदान घटाउने निर्णय गरेको थियो ।

रसायनिक मलमा यसअघि समग्रमा ७० दशमलव ८२ प्रतिशत बराबर अनुदान दिइरहेकोमा अब ५९ दशमलव ०४ प्रतिशत कायम गरिएको छ । कृषि मन्त्रालयले यो दरलाई क्रमशः ५० प्रतिशतमा झारिने समेत बताएको छ ।  सरकारले मलको अनुदान घटाएसँगै कृषकले यसअघि खरिद गर्दै आएको मूल्य पनि बढेको छ । अनुदान कटौतीपछि आयात बिन्दुमा युरिया प्रतिकिलो २५, डिएपी प्रतिकिलो ५० र पोटास प्रतिकिलो ४० मा बिक्री वितरण हुनेछ ।

यसअघि आयात बिन्दुमा युरिया प्रतिकिलो १४, डिएपी प्रतिकिलो ४३ र पोटास प्रतिकिलो ३१ मा बिक्री वितरण भइरहेको थियो । साबिकभन्दा अब युरिया प्रतिकिलो ११, डिएपी प्रतिकिलो सात र पोटास प्रतिकिलो नौ रुपैयाँ महँगो पर्ने भएको छ । यसै विषयलाइ लिएर यही चैत ६ गते सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाइ ज्ञापन पत्र बुझाउँने कार्यक्रम रहेको जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले जानकारी दिनुभयो ।