सीबीआरको सहयोगले फेरिएको जीवनशैली

0
Shares

ओखलढुंगा । दुई वर्ष अघितिर मोलुङ–४ ओखलढुंगाका बृजबहादुर तामाङलाई जीवन यापन गर्न त्यत्ति सहज थिएन । तीन छोरा, एक श्रीमती आफूसहित गरेर पाँच जनाको परिवारका अभिभावाक बृज शारीरिक रूपमा पूर्ण दृष्टिविहीन हुनुहुन्छ । तीन छोराहरूको भरणपोषण र घर खर्चमा आफ्नो पुख्र्यौली जयजेथा मासेका बृजको जीवन यापन नजिकै रहेको मोलुङ खोलाको बालुवाले हम्मेहम्मेले धानेको थियो । आफू पूर्णरूपले आखा नदेख्ने काम गर्न जानु पर्ने खोलामा त्यत्ति सहज थिएन बृजलाई बालुवाको काम गर्न । तर के गर्नु नगरी पनि सुख थिएन पो ।

आफू बाच्न र अरूलाई बचाउनका लागि उनि ज्यान जोखिममै राखेर भए पनि बालुवा झिक्ने दैनिक खोलातिर जान्थे । परिवारको भरण पोषमा घर खेत निखारेका बृज परिवासहित ससुराली घरमा बसेका थिए । बृज बडो कठिनका साथ जिन्दगी धानिरहेका थिए । घरिघरि जिन्दगी सम्झेर दिक्क मान्थे बृज ।

१० कक्षा पास गरेका बृज पढाइ लेखाइमा निक्कै निपूण हुँदा हुँदै पनि आफ्नो आखाको ज्योति नभएका र आर्थिक अवस्था कमजोर भएकै कारण उनले थप उच्च शिक्षा हासिल गर्न सकेन्न । वर्षा याममा झरीले खाला जाना कठिन हुन्थ्यो भने हिउँदको याममा जाडोले कठयाङग्रिएर बालुवाको काम गर्न निक्कै समस्या थियो बृजलाई ।

यसै क्रममा ओखलढुंगा सामुदायिक अस्पताल सोब्रुद्वारा सञ्चालित समुदायमा आधारित पुनःस्थापना कार्यक्रम (सीबीआर) ले मोलुङ गाँउपालिकामा रहेका अपाङ्गता भएका व्यक्तिहरू लक्षित ७ दिने मुडा बनाउने तालिमको आयोजना ग¥यो । खोलाको बालुवा झिक्ने जोखिमयुक्त काम गरी रहेका पूर्ण दृष्टिविहीन बृजले पनि उक्त तालिम लिने निचोड निकाले । बृज २०७७ श्रावण महिनामा सञ्चालित ७ दिने उक्त तालिममा सहभागी बने । मन लगाएर तालिम लिए किनकि, खालामा बालुवा निकाल्ने काम सदाका लागि त्याग्नु थियो बृजलाई ।

शुरूशुरूमा मुडा नबिक्लाकी भन्ने भान पनि थियो बृजलाई । बिके बिक्छ नबिके घरमै प्रयोग गर्न सकिन्छ भन्ने सोचले शुरूमा थोरै मुडा बनाए । उनले बानाएको मुडा निक्कै आर्कषक देखियो । देख्नेहरूले खुबै मन पराउन थाले । शुरूमा वरपरका घरमा आउने जानेले बृजले बनाएका मुडा किनेर लान थाले । यसरी एक दुई जनाले किनेर लाने क्रम बढ्न थाल्यो । आफूले बनाएको मुडाको मागमा वृद्धि भएको देखेर मुडा बनाउन हौसिए बृज ।

निरन्तर मुडा निर्माण जुटेका बृजको मुडाले राम्रो बजार भाउ पाउन थाल्यो । मुडा राम्रोसँग बिक्री हुन थालेपछि बृजले खोलामा बालुवा झिक्ने काम चटक्कै त्यागेका छन् ।

बृजले मुडा बनाएर राम्रो आम्दानी गरिरहेको देखेर ओखलढुंगा सामुदायिक अस्पतालले उनलाई थप व्यवसायिक र आत्मनिर्भर बनाउने योजना बनायो । त्यसैले यही माघ २२ गतेदेखि फाल्गुन २२ गते सम्म १ महिने बाँसका सामग्री निर्माण गर्ने तालिम सञ्चालन ग¥यो । यो तालिममा मोलुङ गाँउपालिकाका अन्य अपाङ्गता भएका व्यक्तिहरू सँगै बृजले पनि बढो तदारुक्ताका साथ लिए ।

बाँसको हस्तकला बनाउने तालिम लिएपछि बृजले पहिलेदेखि बनाउँदै आएका मुडासँगै बाँसको मन्दिर, ¥याक, ऐनाको फ्रेम, कुर्सी, टेबुललगायतका सामग्री निर्माण गर्ने गरेका छन् । एउटा मन्दिरको ३ हजारसम्म लिने गरेका बृजलाई हाल बजारमा सामान पु¥याउन निक्कै हम्मे हम्मे पर्ने गरेको छ । मुडाबाट राम्रो आम्दानी गरेका बृजकोमा अचेल भने बाँसको मन्दिर र ऐनाको फ्रेमको माग निक्कै आउने गरेको बताउँछन् उनी । आफू एक्लैले सामग्री उत्पादन गर्न नसकेपछि आफ्नो श्रीमतीलाई पनि आफूले सिकेको सिप सिकाएका छन् । पहिले आफू एक्लैले हस्तकलाको काम थालेका बृजलाई हाल उनकी श्रीमतीले पनि साथ दिन थालेकी छन् ।

सिप सिकेर व्यवसायी बनेका बृजलाई सी.बी.आर. कार्यक्रमले ६० हजार बराबरको सामग्री र २६ हजार नगद सहयोग गरेको समुदायमा आधारित पुनःस्थापना कार्यक्रम मोलुङ गाँउपालिकाका टिम लिडर राम बुढाथोकीले बताएका छन् ।

ओखलढुंगाको मुलुङ गाउँपालिका र खिजी देम्बा गाउँपालिकामा २०७६ माघ बाट सञ्चालनमा आएको समुदायमा आधारित पुनःस्थापना कार्यक्रमले मोलुङ गाउँपालिकामा ८४ जना अपाङ्गता भएका व्यक्तिहरूलाई तथा सिपमूलक तालिममा सहयोग गरेको समेत बुढाथोकीले बताएका छन् ।

यसै गरी समुदायमा आधारित पुनःस्थापना कार्यक्रमकै आर्थिक साहयोगमा मोलुङ गाउँपालिकाका ४ जना घर विहीनहरूलाई घर निर्माण गरिदिएको छ । घरविहीन मोलुङ ५ का तेज बहादुर कार्की, मोलुङ तीनका पदमबहादुर तामाङ, मोलुङ १ को खिनामाया वाग्ले र मोलुङ ८ को धनकुमार राईलाई घर निर्माण गरी हस्तान्तरण गरिएको छ ।

समुदायमा आधारित पुनःस्थापना कार्यक्रम (सीबीआर) ओखलढुंगा सामुदायिक अस्पतालद्वारा सञ्चालित कार्यक्रम हो । अपाङ्गता भएका व्यक्तिहरूको योगदानद्वारा सक्षम बनाएर उनीहरूको जीवनयापनमा सहजता ल्याउनु कार्यक्रमको उद्देश्य रहेको छ ।