‘राष्ट्रपतिको सवारीबाट सर्वसाधारणले दुःख नपाऊन्’

0
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रपतिको सवारीमा तामझामबाट नागरिकले दुःख पाउन नहुने बताउनुभएको छ । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्दै उपसभापति गुरुङले राष्ट्रपतिको सवारीमा तामझाम गरेर सर्वसाधारणलाई दुःख दिने विगतको परम्परालाई तोड्न सुझाव दिनुभएको हो ।

शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई बधाइ तथा शुभकामना दिएका उपसभापति गुरुङले सञ्चारकर्मीहरूसँग भन्नुभयो– ‘आजको भेटमा नवनिर्वाचित राष्ट्रपतिलाई शुभकामनासहित राष्ट्रपतिको सवारीमा तामझाम गरेर सर्वसाधारणलाई दुःख दिने विगतको परम्परालाई तोड्न सुझाव दिएको छु ।’ भेटमा राष्ट्रपति पौडेलले आफ्नो सवारीका नाममा जनतालाई दुःख दिने पक्षमा आफू नरहेको बताउनुभएको गुरुङले जानकारी दिनुभयो ।

अति विशिष्ट र विशिष्ट पदाधिकारीको सवारीका कारण सडकमा हुने अवरोध हटाउन गृह मन्त्रालयले सवारी व्यवस्थापन सुरक्षा कार्यविधि परिमार्जन लागेको छ । राष्ट्रपति पौडेलले आफ्नो सवारीका कारण सर्वसाधारणलाई कुनै दुःखकष्ट नहोस् भनेर तामझाम हटाउने व्यवस्था गर्न गृह मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिइसक्नुभएको छ ।

विशिष्ट पदाधिकारीको सवारीलाई राजकीय सवारी, कार्यालयको सवारी, निजी सवारी, औपचारिक सवारी र अनौपचारिक सवारी भनी सवारी प्रयोजनका आधारमा सवारी व्यवस्थापन तयारी गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलले आफू निर्वाचित निर्वाचित भएपछि ‘राजाको शासनकाल र गणतन्त्र नेपालको राष्ट्रपतिबीचको भिन्नता कस्तो हुन्छ म देखाउँछु’ भन्नुभएको थियो । तद्यपि, उहाँ राष्ट्रपतिमा निर्वाचित भएलगत्तै पशुपतिनाथको दर्शन गर्न जाँदा सडक खाली गराएर जनताको सास्ती दिएको भन्दै आलोचना भएको थियो ।