उपराष्ट्रपति निर्वाचन : नमुना मतपत्र सार्वजनिक

0
Shares

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि नमुना मतपत्र सार्वजनिक गरेको छ । आयोगले उम्मेदवारको फोटोसहितको नमुना मतपत्र बुधबार सार्वजनिक गरेको हो । यसअघि गत फाल्गुन २५ गते भएको राष्ट्रपतिको निर्वाचनमा पनि उम्मेदवारको फोटोसहितको मतपत्र प्रयोग गरिएको हो ।

उपराष्ट्रपतिको लागि शुक्रबार बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । संघीय सांसद (प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्य) का लागि र प्रदेशसभा सदस्यहरूका लागि छुट्टाछुट्टै मतपत्र बनाइएको छ ।

उपराष्ट्रपतिका लागि जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव, नेपाल कम्युनिस्ट पार्टी (एमाले)की अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा रहनुभएको छ । मतपत्रजनता समाजवादी पार्टीकी प्रमिला कुमारी यादवको समेत नाम समावेश गरिएको छ । उम्मेदवार प्रमिला यादवले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेको भए पनि आयोगले दिएको समयसीमाभित्र फिर्ता नलिएका कारण उहा“को पनि नाम र फोटो नमुना मतपत्रमा समावेश गरिएको आयोगले जनाएको छ । यद्यपि, यादवले आफ्नो उम्मेदवारी झिकेर जसपाकै यादवलाई समर्थन गर्नुुभएको थियो ।

यसैबीच नेपाली कांग्रेसले उपराष्ट्रपतिको लागि जसपाका उम्मेदवार रामसहायप्रसाद यादवलाई मत दिने निर्णय गरेको छ । सत्तागठबन्धनबाट जनमत पार्टीका ममता झाको उम्मेदवारी रहेको स्थितिमा सो निर्णय गरेको हो । सो पार्टीको बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यादवलाई मत दिने निर्णय गरेको कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । कांग्रेसले पार्टीबाट प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभामा निर्वाचित भएका सदस्यहरूलाई यादवका पक्षमा मतदान गर्न निर्देशन समेत दिएको छ ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपराष्ट्रपतिको निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले उपराष्ट्रपति निर्वाचनको मतदानमा मत नदिने र तटस्थ बस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । यसअघि राष्ट्रपतिको निर्वाचनमा पनि राप्रपाले तटस्थ बस्ने निर्णय गरेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले भने एमालेका उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई सघाउने निर्णय गरेको छ ।