निर्वाचन आयोगले सोध्यो कांग्रेसलाई स्पष्टीकरण

0
Shares

काठमाडौँ।

निर्वाचन आयोगले नेपाली कांग्रेससँग २४ घण्टे स्पष्टीकरण सोधेको छ।

उपराष्ट्रपति निर्वाचनको मौन अवधिमा जसपाका उम्मेदवार रामसहायप्रसाद यादवलाई मत दिने निर्णय सार्वजनिक गरेको भन्दै कांग्रेसलाई स्पष्टीकरण सोधिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

‘४८ घण्टा अगाडि कसैलाई मत माग्न नहुने, प्रचारप्रसार हुने गतिविधि गर्न नहुने भन्ने छ। यस समयमा सञ्चार माध्यममा आएका समाचारहरूका अनुसार बैठक बसेर उम्मेदवारलाई मत दिने भनी गरिएको निर्णय हो कि होइन? हो भने उक्त निर्णयको प्रतिवेदनसहित स्पष्टीकरण दिन भनेर सोधेको हो,’ प्रवक्ता पौडेलले भने।

बुधबार बिहान सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन बैठकले जनता समाजवादी पार्टीका उम्मेदवार रामसहायप्रसाद यादवलाई मत दिने निर्णय गरेको थियो।

उक्त निर्णय सार्वजनिक भएपछि आयोगले कांग्रेससँग स्पष्टीकरण सोधेको हो।

आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै ४८ घण्टा अगाडि मौन अवधि जारी भएको जानकारी गराएको थियो।