लेखनाथ बस दुर्घटना : घाइतेको उपचार गर्न नसकेपछि दुई मुद्दा

0
Shares

फागुन ७ गते दिउँसो पोखरा विश्वविद्यालय (पियु) बाट पृथ्वीचोक तर्फ आउँदै गरेको बस दुर्घटनामा पर्‍यो । मादक पदार्थ सेवन पश्चात् चालक निदाएपछि अधिकांश विद्यार्थी रहेको उक्त बस इलाका प्रहरी कार्यालय शिशुवा डाँडाको नाक नजिकै पल्टियो । दुर्घटनामा परी ४५ जना यात्रु घाइते भए । जसमा अधिकांश पियु पढ्ने विद्यार्थी थिए । चालक र सहचालक बाहेक सबै यात्रु घाइते भए ।

बेगनास यातायात व्यवसायी समितिमा आबद्ध ग १ ख ६७४७ नम्बरको बस दुर्घटना भएको हो । बसमा चालकदल सहित ४७ जना थिए । घाइतेहरुको उपचार भएपनि बस धनी र समितिले क्षतिपूर्ति नदिने भएपछि यति बेला दुई मुद्दा परेको छ । चालकलाई सवारी अंगभंग कसुर सम्बन्धी मुद्दा जिल्ला अदालत कास्कीमा दर्ता गराइएको छ भने चालक, बस धनी र यातायात समितिलाई विपक्षी बनाई क्षतिपूर्ति माग सहित जिल्ला प्रशासन कार्यालय कास्कीमा अर्को मुद्दा परेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा मंगलबार मुद्दा परेको हो ।

बस करिब ३० मिटर तल खसेको थियो । दुई तिन पल्ट्याङ खाएपछि बस सिधा भएको थियो । घटना प्रहरी चौकी नजिकै भएकाले घाइतेको तत्कालै उद्धार हुँदा ठूलो क्षति नभएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार उक्त बस ओभर स्पिड नरहेको तर चालकले नशालु पदार्थ खाएको बताएको छ । प्रहरी स्रोतका अनुसार मेडिकल रिपोर्टले उक्त कुरा खुलाएको छ । ‘मेडिकल रिपोर्टले नशालु पदार्थ खाएको भन्ने देखाएको छ’ स्रोतले भने ।

सहायक जिल्ला अधिकारी तथा सूचना अधिकारी गुरुदत्त ढकालले मुद्धा परेपछि सात दिनको म्याद थप गरिएको जानकारी दिए । उनले घटनामा चालक दोषी देखिएकाले र बस समितिमा आबद्ध भएकाले घाइतको उपचार खर्च व्यहोरी क्षतिपूर्ति दिनुपर्ने बताए । ‘सातदिनको म्याद थप भएको छ । क्षतिपूर्ति पाउनुपर्छ ।

यो विषयमा अब सरकारी वकिलले बहस गर्नुहुनेछ त्यसपछि उहाँहरूको माग दाबी कति हो सोही बमोजिम जानेछ’ उनले भने, ‘प्रक्रिया अघि बढेको छ ।
घाइतेहरूले चालकको बोली लडबडिएको र चलाउँदा चलाउँदै निदाएको बताएका थिए । घाइतेमध्ये अधिकांश फागुन ८ गते हुने दीक्षान्त समारोहमा सहभागिता जनाउनका लागि कालो कोट (गाउन र टोपी) लिन पियु पुगेका थिए । उनीहरू फर्कने क्रममा दुर्घटना भएको थियो । चालक विजेश बसौला र सहचालक मनबहादुर कुमाललाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवण कुमार विकले चालकको लापरबाहीका कारण दुर्घटना भएको र सवारी चालकमाथि मुद्दा चलिरहेको जानकारी दिए । उनका अनुसार चालक बसौला प्रहरी नियन्त्रणमै छन् । ‘चालकको लापरबाहीका कारण दुर्घटना भएको हो । चालक सामान्य घाइते भएकाले तत्कालै नियन्त्रणमा लिई हामीले अनुसन्धान थालेका थियौ । चालकविरुद्ध सवारी अगंभगं कसुर सम्बन्धी मुद्दा दर्ता गराई अहिले कारबाही भइरहेको छ’ उनले भने,‘कानुनी प्रक्रिया अघि बढिरहँदा अहिले क्षतिपूर्तिका लागि मुद्दा दर्ता भएको छ ।’

इलाका प्रहरी कार्यालय हंसपुर शिशुवाका प्रमुख डिएसपी प्रकाश दाहालले केही घाइतेहरुको उपचार गराउँदा ठूलो रकम खर्च भएको छ । उनका अनुसार केही घाइतेहरुको ८ लाख देखी १५ लाखसम्मको खर्च आएको छ । ‘केही घाइतेहरु दुई तिन दिन अघि मात्रै डिस्चार्ज भए । उनीहरुलाई गम्भीर चोट लागेको थियो । उपचार गराउँदा व्यक्तिगत खर्च नै १२/१५ लाख रुपैयाँसम्म आएको देखियो’ उनले भने ।