नेपाल समाचारपत्रको सम्पादकमा पण्डित नियुक्त

0
Shares

काठमाडौँ। 

नेपाल समाचारपत्र दैनिकको सम्पादकमा सागर पण्डित नियुक्त हुनुभएको छ । नेपाल समाचारपत्रको प्रकाशन संस्था कामना न्युज पब्लिकेसन्स् प्रालिले पण्डितलाई बुधवारदेखि लागू हुने गरी सम्पादक पदमा नियुक्त गरेको हो ।

बुधबार एक कार्यक्रमकाबीच कामना न्युज पब्लिकेसन्स् प्रालिका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठ र निवर्तमान सम्पादक कपिल काफ्लेले नवनियुक्त सम्पादक पण्डितलाई स्वागत तथा पदस्थापन गराउनुभएको थियो । स्थापनाकालदेखि नै सम्पादक रहँदै आउनुभएका काफ्ले अबदेखि कामना न्युज पब्लिकेसन्स् प्रालिको सल्लाहकारका रूपमा रहनुहुनेछ ।

सम्पादक पण्डितलाई स्वागत गर्दै सल्लाहकार काफ्लेले आगामी दिनमा पण्डितको नेतृत्वमा अखबारले नयाँ उचाई प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै, प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कामना परिवारको नयाँ सदस्यका रूपमा पण्डितलाई भित्र्याएको उल्लेख गर्दै उहाँको अनुभव र ज्ञानबाट संस्थाले फाइदा दिनुपर्ने बताउनुभयो ।

विगत २२ वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आउनु भएका पण्डितले बुटबलस्थित दैनिक लुम्बिनीबाट पत्रकारिता सुरु गरी यसअघि राजधानी दैनिकको सम्पादकको रुपमा कार्यरत हुनुहुन्थ्यो । त्यस्तै उहाँसँग अन्नपूर्ण पोष्ट दैनिक, नयाँ पत्रिका दैनिकलगायतमा कार्य गरेको अनुभव छ ।

राजनीतिशास्त्रमा स्नातकोत्तर, कानुनमा स्नातकसमेत गर्नुभएका सम्पादक पण्डित अधिवक्तासमेत हुनुहुन्छ । प्रशासन र सुशासनमा विशेष दख्खल राख्ने उहाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रेस काउन्सिललगायतका निकायबाट  पुरस्कृतसमेत हुनु भएको छ ।