हस्तकला व्यवसायको प्रर्वद्धनको लागि राज्यको पहलको खाँचो औल्याइयो


ललितपुर ।
नेपालको मौलिक पहिचानसँगै अर्थतन्त्रको महत्वपूर्ण हिस्सा ओगटेको हस्तकला व्यवसायलाई माथि उकास्न राज्यले विशेष पहल गर्नुपर्ने खाँचो एक कार्यक्रमका वक्ताहरुले औल्याएका छन् ।
ललितपुर हस्तकला संघको १६ औं वार्षिक साधारणसभाका वक्ताहरुले सो खाँचो औल्याएका हुन् । उनीहरुले हस्तकलाजन्य वस्तुको उत्पादन, बजार प्रर्वद्धन र निकासीको लागि विशेष पहल गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले अझै पनि नेपालको मुख्य निर्यातजन्य वस्तुको रुपमा हस्तकलाजन्य उत्पादन रहेको जनाउँदै हस्तकला व्यवसायीहरुले भोग्नुपरिरहेको विविध समस्या समाधान गर्न सरकार उदासीन रहेको बताउनुभयो।
महासंघका अध्यक्ष शाक्यले कोराना महामारीबाट थलापरेको हस्तकला व्यवसायलाई पुनःजीवन दिनुपर्नेमा जोड दिनुभयो।
वाग्मती प्रदेश हस्तकला संघका अध्यक्ष नवीन शाक्यले  वाग्मती प्रदेशका १३ जिल्लामा हस्तकलाजन्य वस्तु उत्पादन, बजारीकरणको हिसाबले ठूलो सम्भावना रहेकोेले  त्यसलाई मूर्त रुप दिन प्रदेश सरकार र स्थानीय तह लाग्नुपर्ने बताउनुभयो। उहाँले हस्तकलाजन्य वस्तुको उत्पादन, बजारीकरण र निकासीको क्रममा भोग्नुपरिरहेको समस्याप्रति गम्भीर हुन पनि सरकार समक्ष माग गर्नुभयो।
ललितपुर हस्तकला संघका अध्यक्ष रमेश सिंले हस्तकलाले नेपालको पहिचान, तुलनात्मक लाभ लिन सक्ने वस्तु र यसमा पुस्तौंदेखि संलग्न हुँदै आएको लगायत विविध दृष्टिबाट यसको महत्वलाई रेखांकन गरी विशिष्टकृत गर्नुपर्ने धारणा राख्नुभयो र ‘ हस्तकलाजन्य उत्पादनलाई अरु उद्योग भन्दा फरक रहेको आत्मसात गरेर यसको प्रर्वद्धन गर्न विविध काम थाल्नुपर्दछ ।’ संघका अध्यक्ष सिंले भन्नुभयो।
सो अवसरमा ललितपुर क्षेत्र नं २ का  सांसद् प्रेम महर्जनले व्यवसायीहरुले उठाएका समस्या, सरोकारको विषय राज्य र संसद्मा ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।नेपालको विशिष्टता, चिनारी, संस्कृतिसंग जोडिएको पेशा भएकोले यसको विकासको लागि सरकार गम्भीर नभई सुख नहुने पनि सांसद् महर्जनको भनाई रहेको छ ।
ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछ्योंले हस्तकलालाई प्रवद्र्धनको लागि स्थानीय तहले व्यवसायीहरुसंग मिलेर काम गर्नुपर्ने बताउनुभयो। ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले हस्तकलाको विकासको लागि संघ, प्रदेश र स्थानीय तहले उपर्युक्त नीति ल्याउन पैरवी गर्दै आएको बताउनुभयो।
सो अवसरमा संघका सचिव कपिल शाक्यले वल्र्ड क्राफ्ट काउन्सिलले ललितपुर विश्वको ३५ औं कला कला नगरी घोषणा गरेपनि त्यसको महत्व र मर्मलाई सरोकारवालाले राम्ररी ठम्याउन नसक्दा अपेक्षा गरे बमोजिम व्यवसायीले लाभ पाउन नसकेको बताउनुभयो।