सर्वोच्चको आदेश कार्यान्वयन गर्दै कामपा, सोलार बत्तीमाथि राखिएको विज्ञापन बोर्ड हटाइयो

0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले दरबारमार्गको पार्किङ हटाएको करिब एक महिनापछि सोलार बत्तीमाथि राखिएको विज्ञापन बोर्ड हटाएको छ । कामपाले ७ वर्षअघिको सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न भन्दै सो होर्डिङ बोर्ड हटाएको जनाएको छ ।

कामपा राजस्व विभागले शहरलाई कुरूप हुन नदिन होर्डिङ बोर्ड हटाएको जनाएको छ । करिब एक महिनाअघि दरबारमार्गको सडकमा राखेको पार्किङ हटाएपछि आन्दोलित भएका त्यहाँका व्यापारी मंगलबार विज्ञापन हटाएपछि थप आक्रोशित भएका छन् । सोलारबत्तीको पोलको प्रचार समग्री हटाउन खोज्दा विवाद भएको थियो । तर, कामपा प्रहरीले आदेश पालना गर्नुपर्ने जनाउँदै सबै पोलबाट प्रचार सामग्री हटाएको थियो ।

सर्वोच्चले २०७२ भदौ १६ गते सबै शहरको सौन्दर्य कायम गर्न पोल, पर्खाललगायत सबै क्षेत्रबाट सबै प्रकारका पोस्टर, पम्प्लेट, बोर्ड, पर्चालगायतका वातावरणमा प्रत्यक्ष असर गर्ने सामाग्री नराख्न आदेश दिएको थियो । कामपा नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले सर्वोच्चको आदेशअनुसार सोलार बत्तीको पोलमाथि राखिएको बोर्ड हटाइएको जानकारी दिँदै भन्नुभयो– ‘शहरलाई कुरूप हुन नदिन र वातावरण स्वच्छता कायम गर्न बोर्ड हटाएका हौं ।’

कामपा सार्वजनिक निजी साझेदारी कार्यक्रम प्रमुख महेश काफ्लेले दरबारमार्ग विकास बोर्डले एक वर्षदेखि नवीकरण नगरी बिजुलीको पोलमा प्रचार सामग्री राखेको बताउँदै भन्नुभयो– ‘दरबारमार्ग विकास बोर्डले कामपासँग सम्झौता नगरी बोर्ड राखेको जानकारी पाएपछि हटाएका हौं । सर्वोच्चको आदेश कार्यान्वयन गर्न पटकपटक ताकेता गर्दा समेत बेवास्ता गरेपछि बाध्य भएर हटाएका हौं ।’ सर्वोच्चको आदेश कार्यान्वयन गर्ने विषयमा नवीकरण गरेको पत्र देखाउन नसकी जबरजस्ती गरेकोले बाध्य भई ती बोर्डहरू हटाउनु परेको उहाँको भनाइ थियो ।

काठमाडौं महानगरपालिकालाई वातावरणीय रूपमा स्वच्छ, स्वस्थ्य, सफा र सुन्दर बनाउन भन्दै सर्वोच्चले केन्द्रीय तथा स्थानीय निकाय, प्रहरी वातावरण संरक्षणको क्षेत्रमा क्रियाशील संस्थाहरू र नागरिकसमेतको समन्वयात्मक प्रयासबाट घर, पर्खाल, छत, बिजुलीको पोल र सडक डिभाइडर आदिमा रहेका रहेका पर्चा, पम्प्लेट, भित्ते लेखन, अनधिकृत रूपमा राखिएका होर्डिङ बोर्ड र विज्ञापन बोर्डलाई हटाउन कामपाको नाममा परामदेश जारी गरेको थियो । सर्वोच्चले सो परमादेश कार्यान्वयन भए नभएको विषयमा कामपासँग पटकपटक जानकारी मागेको थियो ।

कामपा नगर प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार पछिल्लो तीन महिनामा करिब १४ हजारभन्दा बढी अनधिकृत होर्डिङ बोर्डलगायतका प्रचार सामग्री हटाइसकेको छ ।

अनधिकृत सामग्री हटाउन कामपा वातावरण व्यवस्थापन विभाग, राजश्व विभाग, सार्वजनिक निजी साझेदारी कार्यक्रम र नगर प्रहरीले तदारुकता देखाएको छ । कामपा प्रहरीले बागबजार, पुतलीसडक, न्युरोड, दरबारमार्ग, कालीमाटी, कुलेश्वर, नयाँ बानेश्वर, चावहिल, कोटेश्वर, टेकु, थापाथली, माइतीघर, तीनकुने, बालाजु, सोह्रखुट्टेलगायत दर्जनभन्दा बढी क्षेत्रको अनधिकृत बोर्ड हटाइसकेको छ । कामपा प्रहरी प्रमुख पाण्डेले ३० स्क्वायर फिटभन्दा ठूला सबै होर्डिङ बोर्ड हटाइसकेको जानकारी दिनुभयो ।