हेटौंडाका निजी बैंंक बन्द

0
Shares

हेटौंडा।

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा भएको आन्दोलनका कारण मंगलबार हेटौंडाका निजी बैंंक बन्द भएका छन् । चर्को व्याजदरको विरोध गर्दै आन्दोलनरत् व्यवसायीले हेटौंडाका बैंक बन्द गराएको संघका उपाध्यक्ष/प्रवक्ता उज्ज्वल चौलागाईंले बताउनुभयो ।

बैंकले ऋण लिएकालाई थाहा नदिइ व्याजदरबृद्धि गरेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले आन्दोलनका कार्यक्रम गरेको हो । कार्यक्रमअन्तर्गत् बैंकको कारोबार ठप्प पारिएको हो ।

मकवानपुर उद्योग वाणिज्य संघको आह्वानमा चर्को बैंक व्याजविरुद्धको विरोध कार्यक्रम मंगलबार सम्पन्न भएको छ । सात दिन चलेको विरोध कार्यक्रममा फागुन २१ गते पहिलो दिन चर्को बैंक व्याज घटाउन बैंकहरुलाई ज्ञापनपत्र बुझाइएको थियो । दोस्रो दिन फागुन २४ गते वागमती प्रदेशका २८ उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधिको उपस्थितिमा हेटौंडामा विरोध र्‍यालीसहित बुद्धचोकमा विरोधसभा गरिएको थियो ।

सभालाई नेपाल उद्योग वाणिज्य महासंघ उपाध्यक्षद्वय अञ्जन श्रेष्ठ र दिनेश श्रेष्ठले सम्बोधन गर्दै चर्को बैंकव्याजको विरोध गर्नुभएको थियो । तेस्रो दिन फागुन २५ गते हेटौंडाका विभिन्न बैंकमा एक घण्टा धर्ना दिइएको थियो । चौथो दिन फागुन २६ गते पनि हेटौंडाका विभिन्न बैंकमा दुई घण्टा धर्ना दिइएको थियो ।

पाँचौ दिन फागुन २८ गते बैंकमा नगद जम्मा नगर्न आह्वानसहित बैंकहरुमा धर्ना दिइएको थियो । छैठौं दिन फागुन २९ गते बैंकिङ कारोबार नगर्न आह्वानसहित हेटौंडाका बिभिन्न बैंकहरुमा धर्ना दिइएको थियो । अन्तिम सातौं दिन मंगलबार हेटौंडाका बैंक बन्द आह्वान गरी विरोधका ७ दिनका कार्यक्रम सम्पन्न गरिएको छ ।

मकवानपुर उद्योग वाणिज्य संघ उपाध्यक्ष प्रमोदसिंह रानाभाटले विरोधको कार्यक्रम संयोजन गर्नुभएको थियो । कार्यक्रमलाई सफल बनाउन नारायणी यातायात व्यवसायी संघ, निर्माण व्यवसायी संघ, होटल एसोसिएसन, सुनचाँदी व्यवसायी संघ, कपडा तथा सिलाइ व्यवसायी संघ, माछामासु व्यवसायी संघ, कपडा तथा तयारी पोशाक व्यवसायी संघ, मोबाइल एसोसिएसन, फर्निचर व्यवसायी संघ, अटोमोबाइल एसोसिएसनलगायत विभिन्न बस्तुगत संघहरुको सक्रिय संलग्नता थियो ।

मकवानपुर उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष अनिल अग्रवालले सातौं दिनको विरोधसभालाई सम्बोधन गर्दै आन्दोलनले अपेक्षा गरेअनुरुप माग पूरा नभएकाले थप आन्दोलन आवश्यक रहेको बताउनुभयो ।