ठाकुरराम बहुमुखी क्याम्पसमा चैत ८ गते स्ववियु निर्वाचन

0
Shares

वीरगन्ज। 

वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा चैत ८ गते मात्रै स्ववियु निर्वाचन हुने भएको छ । निर्वाचन अधिकृत रोशन लामिछानेले सोमबार सार्वजनिक गरेको संशोधित निर्वाचन तालिकामा चैत ८ गते बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान हुने उल्लेख छ ।

त्रिभुवन विश्व विद्यालय र त्यसका आङ्गिक क्याम्पसहरुमा चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ । त्रिविद्वारा प्रकाशित स्ववियु निर्वाचन तालिका बमोजिम सम्पूर्ण कार्यक्रम हुनुपर्नेमा विशेष कारणबस निर्वाचन तालिकामा संशोधन गर्नुपरेको उहाँले बताउनुभयो ।

फागुन ३० गते मनोनयन पत्र वितरण गर्ने, चैत १ गते नामावली दाखिला गर्ने, चैत १ गते साँझ ५ बजे उम्मेदवारको नामावली प्रकाशन गर्नेगरि निर्वाचन तालिका संशोधन गरिएको छ । चैत २ गते उम्मेदवारको विरुद्ध दावी विरोध प्रस्तुत गर्ने र दावी विरोध उपर छानबिन गरेर नामावली प्रकाशित गर्ने, चैत ३ गते उम्मेदवारले नाम फिर्ता लिने अन्तिम समय र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेगरि तालिका तयार गरिएको छ ।

फागुन २३ गते सार्वजनिक गरिएको प्रारम्भिक मतदाता नामावली त्रुटि देखिएपछि विद्यार्थी संघ संगठन र समूहले विरोध जनाएका थिए । उनीहरुले त्रुटि बारे छानबिन हुनुपर्ने माग राखेका थिए । यही विषयलाई लिएर केही उच्छृङ्खल विद्यार्थीले विद्यार्थी कल्याणको कोठामा आगजनीसमेत गरेका थिए । जसले गर्दा फागुन २५ गते गते अन्तिम मतदाता नामावली प्रकाशित हुन सकेको थिएन ।

मतदाता नामावलीमा देखिएको त्रुटि छानबिनका रघुनाथप्रसाद चौरसियाको संयोजकत्वमा समिति गठन गरिएको थियो । तीन दिनभित्र त्रुटि बारे छानबिन गरेर प्रतिवेदन बुझाउन भनिएको थियो । विद्यार्थी संगठनहरुबाट छानबिनमा असहयोग भएको भन्दै उनले आइतबार राजीनामा दिनुभएको थियो ।

पुनः सहायक क्याम्पस प्रमुख अनिलकुमार रमण नेतृत्वको छानबिन समितिले नामावलीमा देखिएको समस्या समाधान गरेर सोमवार नै प्रतिवेदन निर्वाचन समितिमा पेस गरेको थियो ।

निर्वाचन अधिकृतको कार्यालयले ९ हजार ७ सय जना मतदाताको नामावली क्याम्पसको वेबसाइटमा राखिएको थियो ।