विषाक्त सिनो खाएर ५ गिद्ध मरे

0
Shares

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती क्षेत्रमा विषाक्त सिनो खाएर आधा दर्जन गिद्ध मरेका छन् ।

संरक्षणकर्मीहरूले सोही ठाउँबाट १ हिमालयन गिफ्फोनसहित ४ ओटा विरामी गिद्धको हिजो (सोमबार) उद्धार गरेका छन् ।

उद्धार कार्यमा स्थानीय, डिभिजन वन, सेना, प्रहरी र जटायु संरक्षण केन्द्र तथा नेपाल पंक्षी संरक्षण संघका पदाधिकारीहरू सहितको टोली लागेको थियो ।

उद्धार गरिएका गिद्धहरूलाई विष प्रतिरोधी इन्जेक्सन तथा पानीको मात्रा घट्न नदिन स्लाइन दिएर बचाउको प्रयास थालिएको नेपाल पंक्षी संरक्षण संघले जनाएको छ ।

मृत स्यालको विषाक्त सिनो खाएका गिद्धहरू स्थानीय कावासोती नगरपालिका वडा ३ र १६ स्थित केरूङ्गे खोला र दायाँबायाँको सामुदायिक वनमा कारूणिक अवस्थामा फेला परेका हुन् ।

मृत अवस्थामा फेला परेकामध्ये वाईल्ड र क्याप्टिभ ट्याग गरिएका २ संरक्षित गिद्ध रहेको स्थानीय जटायु रेष्टुरेन्ट व्यवस्थापन समितिका अध्यक्ष एवं संरक्षणकर्मी डिवी चौधरीले बताउनुभयो ।

यहाँको खोलामा ३ ओटा मरेका स्यालको सिनो फेला परेको र स्याल मार्न कुखुरामा विषादी हालेर फालिएको आशंका गरिएको छ ।

गत वर्ष पश्चिम नवलपरासीको उजैनीमा यसरी नै मरेको कुकुरको विषाक्त सिनो खादा ठूलो संख्यामा गिद्धहरू मरेका थिए ।

प्रकृतिका कुचिकार लोपोन्मुख गिद्धको संरक्षणमा स्थानीयहरू लागि रहेका बेला विषादीको गलत प्रयोगबाट गिद्ध मारिँदा संरक्षणकर्मीहरू चिन्तित बनेका छन् ।

गत शनिबार मात्रै यहाँको जटायु रेष्टुरांमा रहेका डंगर प्रजातिका १० गिद्ध संरक्षण हेतु प्राकृतिक बासस्थानमा छाडिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन् केन्द्र कसरामा हुर्किएका ती गिद्द गत कात्तिक महिनामा जटायु रेष्टुरामा ल्याएर राखिएको र स्वास्थ्य परीक्षण गरि यहीँको मध्यवर्ती वनमा छाडिएको हो ।