बसाइँसराइको प्रभाव : गाउँका अधिकांश घरमा भोटेताल्चा, पोखरा सर्ने मात्रै ५ सय घर

0
Shares

पर्वत । ढुंगाले बनेका चिटिक्का घर, घरको आगनमा नै पानीको धारा, गाउँसम्म पुग्नका लागि बाह्रै महिना चल्ने कच्ची सडक, विद्युतको सुविधादेखि शिक्षा र स्वास्थ्यको अवस्थामा पनि सुधार भएको छ । गाउँमा सुविधा थपिएको छ । तर, पर्यटकीय गाउँ भएपनि पर्वतको कुस्मा नगरपालिकाको आर्थर डाडाँखर्कमा अधिकाँश घरमा भोटेताल्चा झुण्डिएको देखिन्छ ।

दुई दशकमा बसाइँसराइ उच्च भएपछि आर्थर डाडाँखर्क गाउँका अधिकांश घरमा भोटेताल्चा झुण्डिएको छ । पर्वतको सदरमुकाम कुश्मादेखि बसमा कच्ची सडक हुँदै डेढ घण्टा र पर्यटकीय शहर पोखरादेखि चार घण्टाको दूरीमा पुग्न सकिने सुन्दर र रमणीय आर्थर डाडाँखर्क सुनसान बन्दै जान थालेको छ ।

गुरुङ समुदायको बाहुल्यता रहेको आर्थर डाडाँखर्कमा दुई दशकको बिचमा ६ सयभन्दा बढी घर बसाइँसराइ गरेका छन् । त्यसमध्ये झण्डै ५ सय घर त पोखरा उपत्यकामा मात्रै गएको पाइन्छ । चर्को बसाइँसराइका कारण हरेकजसो घरका ढोकामा ताल्चा झुण्डिएका छन् भने घरहरु पनि भग्नावशेष बन्दै जान थालेका छन् ।

स्थानीयबासीका अनुसार पोखरा लगायतका शहरमा मात्रै होइन । यहाँको धेरै जनसंख्या हङकङ, बेलायत, अमेरिका युरोपलगायतका देशहरुमा परिवारसहित बस्दै आएका छन् । तर, दुई दशकअघि शसस्त्र द्वन्द्व नचर्कदासम्म मानिसहरु अधिकाँश गाउँमा नै बस्थे । नजिकको शहर पोखरा, काठमाडौँ, चितवनजस्ता सुविधा सम्पन्न सहरमा घर भएपनि सेवानिवृत्त लाहुरे बाआमाहरु गाउँमा नै रमाएका थिए ।

तर, चर्को चन्दा आतंक र सुरक्षाको चिन्तापछि गाउँबाट शहर झरेको स्थानीय पूर्णबहादुर गुरुङले बताउनुभयो । ‘विदेशमा बस्ने बाहेक बृद्धबृद्धा गाउँमा नै रमाउनुभएको थियो, छोराछोरी शहर र विदेशमा थिए । तर, चर्को चन्दा आतंक र सुरक्षाको चिन्ता भएपछि बुढाबुढीहरु पनि घरमा ताला लगाएर पोखरा झरे ।’ उहाँले भन्नुभया,े ‘त्यसपछि गाउँमा भन्दा बजार झर्ने बढी भए, अहिले गाउँ सुनसान छ ।’

गाउँमा त अहिले घरमा बस्ने पनि बृद्धबृद्धा मात्रै बाँकी छन् । युवाहरु रोजगारीका लागि गएका छन् भने बुहारीहरु पनि गुणस्तरीय शिक्षाको नाममा शहरमा डेरा खोजेरै भएपनि बसेका कारण गाउँको ७० प्रतिशत उब्जाउ जमिन बाँझो छ । कुनै बेला सबैभन्दा मीठो मार्सी चामल फल्ने आर्थर बेसीको हजारौ हेक्टर जमिन अहिले झाडीमा परिणत भएको छ ।

गाउँको बसाइँसराइ ठूलो चुनौती बनेको वडाध्यक्ष रुद्रमोहन रिमालले बताउनुभयो । ‘मान्छेका आधारभूत आवश्यकता सबै पुगेका छन् । विकास निर्माणका काम पनि दिन प्रतिदिन बढिरहेकै छन् । बसाइँसराइ रोक्न सकिएको छैन’, उहाँले भन्नुभयो, ‘लाहुरेको गाउँ भएकाले गर्दा पनि उनीहरुका सबै परिवार बाहिर नै जाने परिपाटीले गर्दा पनि गाउँ रित्तो बनेको हो ।’

आर्थर डाँडाखर्क पुर्खौली भएका थुप्रै आर्थरवासीले यति बेला पोखरामा समाज घर बनाएका छन् । गाउँमा मृत्यु संस्कार गर्न पोखरा झर्नुपर्ने अवस्था छ । जन्म, मृत्युदेखि बिहेवारी, भोज सबै कार्यक्रम पोखरामा नै हुन थालेका छन् । गाउँमा हुने भाइखलकको भोज पनि पोखरामा सहभागिता बढी हुने भएकाले पोखरामा नै हुने स्थानीय रामकृष्ण गुरुङ बताउँनुहुन्छ ।