डेढ अर्ब ठगीको आरोपमा क्षेत्रीय प्रबन्धकसहित तीन पक्राउ

0
Shares

विराटनगर । करिब १ अर्ब ४९ करोड रुपियाँ ठगी गरेको आरोपमा मोरङ प्रहरीले तुलसी बहुमुखी सहकारी संस्थाका क्षेत्रीय प्रबन्धक, उपाध्यक्ष र सचिवसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले सहकारीको उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दीप खवासलाई पक्राउ गरेको हो ।

सहकारीका अध्यक्ष केदारनाथ शर्मा भने अझै फरार छन् । फरार अध्यक्षको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले बताउनुभयो । प्रहरीले दुई सञ्चालक र एक व्यवस्थापकलाई सहकारीमार्फत सर्वसाधारणको रकम संकलन गरेर ठगी गरेपछि ठगी मुद्दा चलाउने तयारी गरेको छ । जिल्ला प्रहरी कार्यालयमा हालसम्म १ सय २१ जनाले १२ करोड ९ लाख ४ हजार रुपियाँ ठगी गरेको भन्दै उजुरी गरेका छन् । सहकारीबाट विराटनगर महानगरपालिकाभित्र मात्रै ४ हजार जनाभन्दा बढी ठगिएका छन् ।

प्रहरी उपरीक्षक पोखरेलले बचत फिर्ता नपाएका बचतकर्तालाई उजुरी गर्न आग्रह गर्नुभएको छ । नेपालभर कार्यक्षेत्र रहेको सहकारीको मुख्य कार्यालय विराटनगरमा छ । झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा सेवा केन्द्र सञ्चालन गरिरहेको छ । सहकारीमा २१ हजार ७ सय १३ जना सदस्य छन् । सर्वसाधारणको बचत फिर्ता गर्न नसकेपछि विराटनगरमा रहेको दुईवटा कार्यालयसहित झापा, उदयपुर र सिरहामा भएको कार्यालय बन्द छन् । फागुन १ गतेबाट सहकारीले सञ्चालन गरेको अन्य व्यवसाय पनि बन्द छन् । १५ प्रतिशतसम्म ब्याज दिने भन्दै सहकारीले लोभ देखाएपछि एक बचतकर्ताले १ करोडसम्म बचत गरेका छन् ।

सहकारी नै टाट पल्टिएपछि सर्वसाधारणको बचत जोखिममा परेको छ । संस्थाका अध्यक्ष केदारनाथ शर्मा भारतमा छन् । सर्वसाधारणले बचत फिर्ता माग्दै प्रदर्शन गरेपछि अध्यक्षको आफन्त सहकारीकी सचिव सविना न्यौपाने र उपाध्यक्ष अनिता गौतमलाई प्रहरीले पक्राउ गरेको थियो । अध्यक्ष र सचिवको सक्रियतामा चलेको सहकारीमा संकलन भएको रकम व्यक्तिगत स्वार्थका आधारमा प्रयोग गरेपछि सहकारी टाट पल्टिएको थियो । सहकारीले सर्वसाधारणबाट संकलन गरेको रकम कृषि व्यावसाय, राइस मिल, घडेरी खरिदलगायतमा क्षेत्रमा लगानी गरेका छन् । सहकारीबाट विराटनगरमा मात्रै ५० करोडभन्दा बढी रकम सर्वसाधारणबाट संकलन गरेको प्रहरीको दाबी छ । प्रहरीले ठगी मुद्दा चलाउने तयारी गरेपछि सहकारीका बचतकर्ता उजुरी लिएर जिल्ला प्रहरी कार्यालय पुगेका छन् ।

१ फागुनदेखि बन्द भएको सहकारी तत्काल खोलेर लगानी उठाएर बचत फिर्ता गर्ने भन्दै सञ्चालकले बचतकर्तालाई आश्वासन दिएका थिए । तर, प्रहरीले सञ्चालकविरुद्ध ठगी मुद्दा चलाउने भएपछि सहकारी सञ्चालन अन्योल भएको छ । सर्वसाधारणको १ अर्ब ४९ करोड रुपियाँ बचत पनि जोखिममा परेको छ । बजारमा गरेको लगानी उठाएर फिर्ता गर्ने भनेपछि केही बचतकर्ताले सहकारी सञ्चालनको वातावरण बनाइरहेका थिए । तर, ठगी मुद्दा चल्ने भएपछि सहकारी सञ्चालन र बचत फिर्ता अन्योल बनेको हो ।

यसैबीच मोरङको कटहरी गाउँपालिकास्थित नवआदर्श बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक उमेशकुमार मण्डलले कलेक्टरले बचतकर्तासँग संकलन गरेको रकम हिनामिना गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी परेको छ । प्रहरीले मण्डललाई यसअगाडि नै पक्राउ गरे पनि सार्वजानिक गरेको थिएन । तर, उजुरी प्राप्त भएपछि उनीविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान गरिने भएको छ । प्रहरीका अनुसार बचतकर्ताबाट कलेक्टरले संकलन गरेको रकम सफ्टवेयरमा इन्ट्री नगरी बाहिर–बाहिरै हिनामिना गरेको र सञ्चालकलाई जानकारी नदिईकन ऋण प्रवाह गरेको भन्दै सञ्चालकले नै उनीविरुद्ध जाहेरी दिएका हुन् ।