रामसहायप्रसादलाई प्रमिलाको समर्थन

0
Shares

काठमाडौं । उपराष्ट्रपतिका उम्मेदवार प्रमिलाकुमारी यादवले आफूले पार्टीका अर्का उम्मेदवार रामसहायप्रसाद यादवलाई समर्थन गरेको जनाउँदै उम्मेदवारी फिर्ता लिनुभएको छ । यादवले सोमबार एक वक्तव्य जारी गरी उम्मेदवार फिर्ता लिएको घोषणा गर्नुभएको हो । राष्ट्रियसभाका सदस्य समेत रहनुभएका यादवको वक्तव्यमा भनिएको छ– ‘प्राविधिक रूपमा उम्मेदवारको नामावलीको सूचीमा मेरो नाम रहन गएको भए तापनि म रामसहायप्रसाद यादवलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु ।’

उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले आइतबार प्रमिलाकुमारी यादवसँगै चार जनाको उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको थियो । आज मंगलबार बस्ने १० दलीय सत्तागठबन्धनले यादवलाई आधिकारिक उम्मेदवार भएको निर्णय गर्नेछ । सत्ता गठबन्धनबाट रामसहायप्रसाद यादवसँग जनमत पार्टीका ममता झाको पनि उम्मेदवारी रहेको छ ।

फागुन १२ गते नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूले उपराष्ट्रपति जसपालाई दिने सहमति गरेअनुसार गत बिहीबार जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलका नेता रामसहायलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । त्यसलगतै निर्वाचन आयोगले राष्ट्रपति खसआर्य समुदायका पुरुष रामचन्द्र पौडेल निर्वाचित भएकोले उपराष्ट्रपतिमा महिला वा अन्य उम्मेदवार हुनुपर्ने तर्क गरेको सञ्चारमाध्यममा आएपछि सो पार्टीले दुवै जनालाई उम्मेदवार बनाएको थियो । निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गर्ने सक्ने आशंका गर्दै दुवै जनाको उम्मेदवारी दिइएको थियो ।

रामसहायको उम्मेदवारीविरुद्ध एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झाले निर्वाचन अधिकृतको कार्यालयमा दिएको उजुरी जाँचबुझ गरी निर्वाचन अधिकृतको कार्यालयले आइतबार रामसहायको उम्मेदवारी कायमै रहने निर्णय गरेको थियो । त्यसलगत्तै जसपाबाटै उम्मेदवारी दिएकी यादवले रामसहायप्रसाद यादवको आजसम्मको योगदानको चर्चा गर्दै वक्तव्य जारी गर्नुभएको हो ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धनका उम्मेदवार रामसहाय यादवलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उपराष्ट्रपतिका लागि मत माग्न बालुवाटार पुगेका यादवसँग प्रधानमन्त्री प्रचण्डले सो प्रतिवद्धता व्यक्त गर्नुभएको जसपाका नेता प्रदीप यादवले जानकारी दिनुभयो । उहाँले उपराष्ट्रपतिको उम्मेदवारीबारे भएको राजनीतिक गतिविधिका बारेमा पनि प्रधानमन्त्री प्रचण्डले थुप्रै कुरा स्पष्ट पार्नुभएको बताउनुभयो ।