उपराष्ट्रपतिको चुनाव सकिनासाथ कांग्रेस सरकारमा

0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य रमेश रिजालले उपराष्ट्रपतिको चुनाव सकिनासाथ कांग्रेस सरकारमा सहभागी हुने बताउनुभएको छ । वीरगञ्जमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै सांसद रिजालले चैतको ५ वा ६ गतेभित्र कांग्रेस सरकारमा सहभागी हुने तयारी भइरहेको बताउनुभयो । उहाँले पार्टीभित्र र सरकारमा सहभागी दलहरूसँग कुन–कुन मन्त्रालय कांग्रेसले लिने र क–कसलाई मन्त्री बनाउने भन्ने विषयमा छलफल भइरहेको जानकारी पनि दिनुभयो ।

कांग्रेसले ९ वा १० मन्त्रालय लिएर सरकारमा जाने करिब–करिब सहमति भएको जानकारी दिँदै रिजालले भन्नुभयो– ‘कुन नेताको नेतृत्वमा सरकारमा जाने भन्ने विषयमा कुनै ठोस निर्णय भइसकेको छैन । पार्टीले जसको आवश्यकता देख्छ, सरकारको नेतृत्व उसैले गर्छ, तर पार्टीले निर्णय गरिसकेको छैन ।’

आठ दलीय गठबन्धनबाट उपराष्ट्रपतिका लागि तीन जनाको उम्मेदवारी परे पनि अन्तिम समयसम्ममा एकजना उम्मेदवारमा सहमति हुने जिकिर गर्दै उहाँले यस विषयमा गठबन्धनआबद्ध दलबीच सहमतिको प्रयास भइरहेको समेत बताउनुभयो ।