नमोबुद्ध, पनौती, चौरीदेउराली र भुम्लुले गरे जग्गा वर्गीकरण

६ वटा पालिकाले अझै गरेनन्

56
Shares

काभ्रे । 

स्थानीय तहले भूवर्गीकरण गरे पछि मात्र जग्गाको कित्ताकाट तथा खरिद विक्री हुने भए पनि जिल्लाका ६ वटा स्थानीय तहले अझै जग्गा वर्गीकरण गर्न सकेका छैनन् । चैत्र १ गते बुधवार देखि वर्गीकरण गरिएका तीन वटा पालिकाको लिखत सुरु गर्ने मालपोत कार्यालय जानकारी दिएको छ ।

‘पहिलो चरणमा धुलिखेल नगरपालिकाले वर्गीकरण गरेर पठायो’–मालपोत कार्यालय काभ्रेका प्रमुख मालपोत अधिकृत ऋषिकुमार दाहालले भन्नुभयो–‘बनेपा, पाँचखालले वर्गीकरण गरेर पठाएपछि काम सुरु भएको छ ।’ चैत्र १ गते देखि लिखत सुरु गर्ने गरी तयारी गरिएका पालिकाहरु मध्ये पनौती र नमोबुद्ध नगरपालिका, चौरीदेउराली र भुम्लु गाउँपालिका हुन् । जिल्लाको मण्डनदेउपुर नगरपालिका, खानीखोला, महाभारत, रोशी, तेमाल र बेथान्चोक गाउँपालिकाले अझै वर्गीकरण गरेका छैनन् । जग्गा वर्गीकरण नभएका कारण ब्यक्तिका पारिवारीक संस्कार समेत रोकिएको छ । पालिकाहरुले आफूसँग जनशक्ति नभएका कारण वर्गीकरणको कार्य टुङ्गाउन नसकिएको बताएका छन् । जेठबाट रोकिएको जग्गाको लिखतको कार्य हुन नसक्दा नागरिकहरू सङ्कटमा परेको पीडा सुनाउन थालेका छन् ।

भुम्लु र फलाँटेमा पुर्जा वितरणको तयारी 

मालपोत कार्यालय काभ्रेपलाञ्चोकले साविक भुम्लु र फलाँटे गाविसमा २०३१ सालमा नापी भएर पुर्जा नपाएका स्थानीयहरुलाई पुर्जा वितरण गरी मालपोत कार्यालयले लिखत खोज्न सुरु गरेको छ । तत्कालीन समयमा नापी भई सीमा विवादका कारण पुर्जा वितरण नहुँदा सोही क्षेत्रका नागरिकहरुले विजनका आधारमा जग्गा खरिद विक्री गर्दै आएका छन् । वर्गीकरण नहुँदा त्यो प्रक्रिया पनि बन्द भएको थियो । कुनै समय बेजिल्ले पासका कारण पनि लिखत खोज्न समय लाग्ने अवस्था छ ।

प्रमुख मालपोत अधिकृत ऋषिकुमार दाहालले फलाँटे र भुम्लुको समस्या समाधानका लागि प्रक्रिया सुरु गरिएको बताउनु भयो । ‘पुर्जा वितरणका लागि मालपोत कार्यालयले गर्नु पर्ने प्रारम्भिक चरणको प्रक्रिया सुरु गरेको छ’–प्रमुख मालपोत अधिकृत दाहालले भन्नुभयो–‘जति सकिन्छ चाँडो नागरिकहरुलाई पुर्जा वितरणका लागि समन्वय र सहजीकरण गर्नेछौँ ।’ पुर्जा नभएकै कारण भूकम्प पछिको पुनर्निर्माण पनि समस्या भएको थियो । लाभग्राही भए पनि पुर्जा नभएका कारण सम्झौता नहुँदा लामो समयसम्म व्यक्तिले आवास पुनर्निर्माण गर्न पाएनन् ।

भुम्लुटार गाविसमा कुल ६६३ घरधुरी थिए । उक्त क्षेत्रमा ६ हजार ५ सय जनसङ्ख्या थियो । फलाँटे गाविसमा ४१९ घरधुरीमध्ये ५० घरधुरीले मात्र लालपुर्जा पाएका छन् । २०३७ सालमा उक्त क्षेत्रमा ४ हजार ८ सय लिखत तयार गरिएको थियो । उक्त क्षेत्रको फिल्डबुकका आधारमा मालपोत कार्यालयमा भएको विजन सम्बन्धी लिखत फेला पारे पछि अन्य प्रक्रिया सुरु हुनेछ ।