पार्टी छाडेर शीतलनिवास प्रवेशको तयारीमा पौडेल

0
Shares

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आजै १ बजे पद तथा गोपनियताको शपथ लिँदै हुनुहुन्छ । शपथ लिएलगत्तै उहाँले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने कार्यतालिका रहेको छ ।

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति पौडेलले आइतबारबाट पार्टी परित्याग गर्नुभएको छ । गत बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका पौडेलले नेपाली कांग्रेसको सबै जिम्मेवारीबाट राजीनामा दिनुभएको हो ।

पौडेलले स्वकीय सचिव चिरञ्जीवी अधिकारीमार्फत केन्द्रीय कार्यालयमा पत्र दर्ता गराउनुभएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । २०१६ सालबाट कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा आबद्ध भई राजनीतिमा लागेका पौडेलले पार्टी र सरकारका विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभएको थियो ।

नवनिर्वाचित राष्ट्रपति पौडेल कांग्रेसको कार्यवाहक सभापति, संसदीय दलको नेतासमेत हुनुभएको थियो भने सभामुख र पटकपटक मन्त्री भइसक्नुभएको थियो । पार्टी र सार्वजनिक पदीय जिम्मेवारीमा रहँदा विवादमा नपरेका पौडेलले प्रजातन्त्र प्राप्तिको आन्दोलनमा लागेकै कारण पटकपटक गरी १५ वर्ष जेलजीवन बिताउनुभएको थियो ।

पार्टीले राष्ट्रपतिका लागि सिफारिस गरेपछि सत्ता गठबन्धन दलहरूले साझा उम्मेदवारका रूपमा उहाँलाई सहयोग गरेका थिए । गठबन्धनका साझा उम्मेदवार पौडेल एमालेको तर्फबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्बाङलाई १८ हजार २ सय ८४ मतान्तरले पराजित गर्दै मुलुकको तेस्रो राष्ट्रपति बन्न सफल हुनुभएको थियो । बिहीबार भएको राष्ट्रपति निर्वाचनमा पौडेलको पक्षमा ३३ हजार ८ सय २ मतभार प्रप्त हुँदा उहाँका प्रतिष्पर्धी एमालेका उपाध्यक्ष नेम्बाङले १५ हजार ५ सय १८ मतभार ल्याउनुभएको थियो ।