अहिलेको सरकार बाह्य शक्तिबाट परिचालित : दामोदर भण्डारी

घेराबन्दीमा एमाले

0
Shares

धनगढी ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले अहिलेको वर्तमान सरकार बाह्य शक्तिबाट परिचालित भएको बताएका छन् । एमालेको ग्रास रुट अभियानको क्रममा कैलालीस्थित गोदावरीको एक कार्यक्रममा बोल्दै भण्डारीले यस्तो बताएका हुन्।

अहिलेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अन्तैबाट चलिरहेको र सरकारलाई समर्थन गर्ने दश दलीय गठबन्धन परिचालित रहेको भण्डारीले दाबी गरे।

उनले भने, ‘अन्तकै आदेश र इसाराबाट अहिलेको सरकार चलिरहेको छ । अहिले अन्तैबाट कोही आउने एकै पटक सबैलाई भेटेर निर्देशन जारी गर्ने र त्योलाई अक्षरशः पालना गर्ने प्रवृत्ति देखिएको छ। उताबाट आदेश आउँछ, यता दश दलीय गठबन्धन आदेश पालना गर्छ। आज नेपालको राज्य सत्ता बाहिरबाट चलिरहेको छ। यस्ता कारणले यो सरकारप्रति सबै क्षेत्रमा निराशा पैदा भएको छ।’

यस्तै उनले अहिलेको सरकार राष्ट्रिय समस्याबाट भागिरहेको र समस्या समाधान गर्न छाडेर आदेश पालनामा लागेको आरोप लगाए।

घेराबन्दीमा एमाले

यस्तै फरक सन्दर्भमा बोल्दै उनले नेकपा एमाले सदैव घेराबन्दीमा परिरहेको बताए । एमालेले ३२ सिटको नेता प्रचण्डलाई प्रधानमन्त्री बनाएको र १० सिटको मान्छेलाई राष्टपति बनाउन खोजेको पनि उनले बताए ।

‘अहिले एमाले र कम्युनिष्ट आन्दोलनलाई टुटफुट बनाउन खोजिएको छ,’ उनले भने, ‘यसअघि हाम्रो एमालेले ३२ सिटको नेता प्रचण्डलाई प्रधानमन्त्री बनायो । त्यसपछि १० सिटको मान्छेलाई राष्टपति बनाउन खोज्यो। तर तिनै मान्छेले दक्षिणपन्थी र प्रतिक्रियावादी शक्तिहरुलाई राज्य सत्ता बुझाएर उनीहरुको सरणमा गए।’

त्यस्तै उनले एमालेको नेतृत्वमा बसेका व्यक्तिहरुले अब सच्चिनुपर्ने जिकिर गरे । पार्टीमा अवसरवादबाट प्रेरित नभएर नेताहरु नीति, विचार र पार्टीको आवश्यकता र औचित्यबाट निर्देशित हुनुपर्ने उनले बताए । अवसरवादका कारणले एमाले पार्टी कमजोर हुने उनको भनाई छ।