सिद्धार्थ राजमार्ग पहिलो प्राथामिकता : सांसद गुरुङ

0
Shares

स्याङ्जा ।

प्रतिनिधि सभा सदस्य धनराज गुरुङले सिद्धार्थ राजमार्ग फराकिलो पार्ने आफ्नो प्रमुख प्राथामिकता रहेको बताउनु भएको छ । सिद्धार्थ राजमार्ग यहाँका नगरिकको लाईफलाईन राजमार्ग रहेको भन्दै राजमार्गलाई चार लेनको बनाउनका लागी सांसदमा आफ्नो तर्फबाट गर्नुपर्ने सबै भुमिका निभाउँने बताउनुभएको हो ।

जिल्लाको वालिङमा आयोजित सम्मान कार्यक्रममा बोल्दै सांसद गुरुङले भन्नुभयो, ‘पहिला काम गरौँ, कामको आधारमा सम्मान गरौँला, निर्वाचित जनप्रनिधि पहिला काममा लाग्नुपर्छ । काम पछिको सम्मानले अझै प्रेरणा मिल्नेछ ।’ नेपाली कांगे्रस क्षेत्र नं. २ प्रदेश (क) को आयोजनामा नियमित बैठक तथा सम्मान कार्यक्रममा उहाँले देश गम्भीर आर्थिक संकटतर्फ उन्मुख रहेको बताउनुभएको हो ।

नागरिकले जनप्रतिनिधिलाई निर्वाचित गरेको काम गर्नका लागी भन्दै पहिला काम अनि सम्मानको परिपाटीको विकास गर्नुपर्नेमा गुरुङले जोड दिनुभयो । नेताहरु ठूला सपना मात्रै बाँड्ने काममा लागि परेको भन्दै उहाँले अझै नेताहरु नसच्चिने हो भने मुलुकले झनै दुःख पाउने बताउनुभयो । उहाँले जनताको स्वार्थ भन्दा मन्त्रीहरु पुरानो गाडी परिवर्तन गर्नुहोस् भन्नेतर्फ लागिपरेको आरोप लगाउनुभयो । उहाँले देश गफले मात्रै चल्न नसक्ने भन्दै सांसद जनताप्रति उत्तरदायी हुनुपर्ने बताउनुभयो । उहाँले सांसद नीति निर्माण भन्दा पनि घोचपेचमा नै सकिँदै गइरहेको बताउनुभयो । सांसद गुरुङले मन्त्री र प्रधानमन्त्री पदकै लागि नेताहरु पटक पटक लडिरहेको बताउनुभयो । उहाँले यस पटकको प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित भएपनि नयाँ प्रतिनिधि सभा सदस्यहरु पनि पुरानै नेताहरु सरह सत्तामा लिप्त भएको बताउनुभयो ।

कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सांसद सरस्वति अर्याल तिवारी, प्रदेश उपसभापति तथा सांसद कल्पना तिवारी, प्रदेश सांसद भोजराज अर्याल, प्रदेश क अन्र्तगतका १९ वटै वडाका पार्टी सभापतिहरु लगायतले आ आफ्नो धारणा राख्नुभएको थियो । प्रदेश समितिले संघीय सांसद धनराज गुरुङ, प्रदेश सांसदहरु सरस्वति अर्याल तिवारी, भोजराज अर्याल र कल्पना तिवारी, वालिङ नगरउपप्रमुख कविता तिवारी, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठलाई सम्मान गरेको हो ।

कार्यक्रमका वक्ताहरुले निस्वार्थ भावले काम गर्नुपर्ने भन्दै संगठन सुदृढिकरणसंगै विकास निर्माणका कार्यमा जोड दिन आग्रह गरेका छन् । विकास निर्माण पहुँचको आधारमा नभई प्राथामिताको आधारमा गर्नुपर्नेमा वक्ताहरुको जोड थियो ।