गणतन्त्र सिध्याउन दरवारीया र राजावादी सडकमा : अध्यक्ष केसी

0
Shares

बुटवल ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र सिध्याउन दरवारीया र राजावादीहरु सडकमा आएको बताउनु भयो । विदेशी शक्ति केन्द्रको आडमा गणतन्त्र बिरोधीहरु चलखेल बढेको अध्यक्ष केसीको भनाइ छ ।

शनिबारदेखि बुटवलमा शुरु भएको राष्ट्रिय जनमोर्चाको राष्ट्रिय परिषद् वैठक उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष केसीले अहिलेको अवस्थामा गणतन्त्रलाई बचाउनुको विकल्प छैन भन्नु भयो ।

नेपालमा हिन्दु राज्य कायम गर्न भारतको आडमा राजावादीहरु सक्रिय भएको उल्लेख गर्दै अध्यक्ष केसीले यो विषयमा ओली र एमालेहरुको पनि सांठगांठ रहेको दावी गर्नु भयो ।

उहाँले द्वन्द्वकालिन समयमा जघन्य अपराध गर्नेलाई कारवाही गर्नुपर्ने बताउंदै आयोग बनाएर द्वन्द्वकालमा जघन्य अपराध गर्नेलाई कारवाही गरी निर्दोषलाई न्याय दिनुपर्ने बताउनुभयो । द्वन्द्वकालिन मुद्वामा प्रचण्ड मात्रै दोषी नभएको उल्लेख गर्दै राज्य र अन्य पक्ष पनि दोषी रहेको केसीको भनाइ छ ।

उहाँले संघीयतालाई हतियार बनाएर शक्ति केन्द्र राष्ट्रहरुले नेपालमा चलखेल बढाएको दावी गर्दै नेपालको हकमा संघीयता असफल भैसकेको दावी गर्नु भयो ।

नेपाल कम्युनिष्ट पार्टी मसालका प्रवक्ता रामप्रकाश पुरीले अमेरिकी साम्राज्यवाद, भारतीय साम्राज्यवाद र युरोपियन शक्ति केन्द्रको आडमा देशीय सामन्तवादी शक्ति गणतन्त्रका विरुद्व सक्रिय भएको बताउनु भयो । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीको अध्यक्षता, उपाध्यक्ष जनकराज शर्माको स्वागत र महासचिव मनोज भट्टको सञ्चालनमा कार्यक्रम भएको थियो ।

राष्ट्रिय जनमोर्चाको राष्ट्रिय परिषद् बैठक दुई दिनसम्म चल्ने छ ।