नेपालको सामाजिक तथा आर्थिक विकासमा जापानको सहयोग निरन्तर

0
Shares

काठमाडौं । 

नेपालका लागि जापानी राजदूत युताका किकुताले नेपाल जापानको असल मित्र राष्ट्र भएको जिकिर गर्दै नेपालको सामाजिक तथा आर्थिक विकासमा जापानले गर्दै आएको सहयोग निरन्तर रहने बताउनुभयो ।

जाइका अल्मुनाइ एसोसियसन(जान) को ४९ औं वार्षिक साधारण सभामा बोल्दै जापानी राजदुत किकुताले नेपालको कृषि, स्वास्थ्य सेवा, शिक्षा, पूर्वाधार विकास, सुशासन, शान्ति निर्माण तथा भूकम्पपछिको पुनर्निमाणका क्षेत्रमा सहयोग गर्दै आएको बताउनुभयो । कार्यक्रममा उहाँले आफ्नो गृहनगर जापानको फुकुशिमामा सन् २०११ मा गएको भूकम्प र त्यसपछि भएको परमाणु प्लान्टको विष्फोटनका कारण हजारौं जापानी नागरिकहरूले दुःख पाएको बेलामा जानले सहयोग गरेको स्मरण गर्दै भन्नुभयो– ‘जाइका अलुम्नाइबाट नेपाल र जापानबीच आपसी सहयोग आदानप्रदान भइरहेको देखेर खुशी लाग्छ ।

आजभन्दा ठीक १२ वर्षअघि आजैको दिनमा जापानको फुकुशिमामा ठूलो भूकम्प गएको थियो । त्यतिवेला जाइका एल्मुनाईले जापानका भुकम्प प्रभावितहरूलाई सहयोग गरेको थियो । सन् २०१५ मा नेपालमा भूकम्पले ठूलो क्षती पु¥यायो, त्यतिबेला जापानले नेपाललाई सहयोग ग¥यो । सहयोगको आदानप्रदानले दुई देशबीचको सम्बन्धलाई अझै मजबुत बनाएको छ ।’ उहाँले जानका सदस्यहरूले जापानलाई आफ्नो दोस्रो घर सम्झने जिकिर गर्दै जानमार्फत नेपाली समाजका धेरै क्षेत्रमा योगदान पुगिरहेकोमा खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा जानका अध्यक्ष डा. रामचन्द्र भुसालले नेपालको दीगो विकासमा निरन्तर सहयोग गर्दै आएको जापानले पछिल्लो पटक भूकम्पको समयका साथै भूकम्पपछिको पुनर्निर्माण र कोभिड–१९ को महामारीमा खुलेर सहयोग गरेको भन्दै जापानप्रति आभार व्यक्त गर्नुभयो । नेपालका ज्येष्ठ नागरिकले कोभिडविरुद्धको खोपको दोस्रो मात्रा जापानकै सहयोगमा लगाउन पाएको भन्दै डा. भुसालले आगामी दिनमा पनि नेपालको दीगो विकासका लागि जापानको सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल–जापान सम्बन्धका विविध पक्ष र जापानी सहयोगसम्बन्धी लेखरचनाहरूको संगालो ‘मिलन’ पत्रिकाको पनि विमोचन गरिएको थियो ।