बनेपाको शिर मेमोरियलमा पुनः आँखा सम्बन्धी सेवा



काभ्रे।

६२ वर्ष अघि काभ्रेपलाञ्चोक जिल्लाको बनेपा घोकेचौरमा काभ्रे पूर्वका जिल्लाहरुका नागरिकहरुलाई समेत स्वास्थ्य सेवा दिने उद्देश्यले स्थापना भएको शिर मेमोरियल एडभेन्टिष्ट अस्पतालले सेवा दिएर स्थगन भएको लामो समय पछि पुनः प्रविधि मैत्री आँखा क्लिनिक सुरुवात गरेको छ ।

‘अस्पतालमा उपलब्ध विविध सेवालाई प्रभावकारी बनाउँदै पुनः आँखा सम्बन्धी सेवा प्रदान गर्ने उद्देश्यले क्लिनिक सुरुवात गरिएको हो’–अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर गाई रेसले भन्नुभयो–‘विभिन्न घटनामा आँखामा चोट लागेर बिरामी अस्पताल आइपुग्दा आँखामा भएको चोटको उपचार क्लिनिक नभएकै कारण सम्भव थिएन र भएन ।’ त्यही कारण सेवाग्राहिहरुलाई सेवा प्रदान गर्ने उद्देश्यले आँखा क्लिनिक सुरुवात गरिएको उहाँले बताउनु भयो । ‘क्लिनिकमा भिजन टेस्ट, कलर भिजन टेष्ट, अटो रिफ्याक्सन, आँखाको प्रेसर लगायतको परीक्षण हुनेछ’– डा.रोजी मानन्धरले भन्नुभयो – ‘आँखाको सर्जरी, मोतिया विन्दु, बच्चाको अन्धोपन परीक्षण पछि उपचारका लागि पनि प्रक्रिया सुरु भएको छ ।’ मोतिया विन्दुको शल्यक्रियाका लागि अस्पताल, सहयोगी दाता र स्थानीय सरकारको समन्वय आवश्यक हुने डा. रोजी मानन्धरले बताउनु भयो ।

 

क्लिनिक उद्घाटन कार्यक्रममा बनेपा नगर प्रमुख शान्ति रत्न शाक्यले स्थानीय सरकारले नागरिकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न स्थानीय सरकारको तर्फबाट अस्पतालसँग समन्वय हुने बताउनु भयो । बनेपामा रहेको रेयुकाई मासुनागा आँखा अस्पतालले सुरु गरेको विशेषज्ञ सहितको सेवालाई प्रभावकारी बनाउन र शिर मेमोरियल अस्पतालमा भएका सेवाहरुलाई थप गुणस्तरीय बनाउन नगरपालिकाले आवश्यक पहल गर्ने उहाँले बताउनु भयो ।

रोटरी क्लबको सहयोग र नगरपालिकाको व्यवस्थापनमा शिर मेमोरियल अस्पतालमा सिटीस्क्यान मेशिन ल्याउने विषयमा छलफल भएको नगर प्रमुुख शाक्यले बताउनु भयो । अस्पतालका मेडिकल अधिकृत डा. एन्जिला बस्नेतले विश्वमा आँखा सम्बन्धी समस्या भएका धेरै नागरिकहरु भएको तर विशेषज्ञ सेवा पाउन नसकेको तथ्याङ्क प्रस्तुत गर्दै शिर मेमोरियल अस्पतालले विगतमा सुरु गरेको आँखा सम्बन्धी सेवालाई पुनः सञ्चालनमा ल्याउन लागेको बताउनु भयो । आँखाको परीक्षण पछि सेवाग्राहिलाई चाहिने कन्ट्रयाक्ट लेन्स, चस्मा तथा अन्य सेवाका बारेमा समेत अस्पताल परिसरमा स्थापना भएको चस्मा घर अर्थात् चस्मा सम्बन्धी क्लिनिकबाट सेवा प्रदान हुने रमेश श्रेष्ठले जानकारी दिनु भयो ।

कार्यक्रममा वडा अध्यक्ष बलराम अधिकारी, अस्पताल प्रशासनका सुन्दर थाापा, पुकार श्रेष्ठ, कर्मचारी मजदुर युनियनका अध्यक्ष राजकुमार श्रेष्ठ, समाजसेवी उत्तम मानन्धर लगायतले शिर मेमोरियल अस्पतालमा आउने बिरामीहरूका लागि आँखा सम्बन्धी सेवा सुरु गरेर सहजता हुने बताउनु भयो । अस्पतालले आँखा सम्बन्धी समस्या भएर आउने बिरामीहरूका लागि २४ सै घण्टा सेवा उपलब्ध गराउनेछ । सोही अवसरमा अस्पतालका विभिन्न सेवाका बारेमा जानकारी गराइएको थियो ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्