पनौतीमा सकियो संकटा जात्रा

0
Shares

काभ्रे । 

फागु पूर्णिमाका दिन आयोजना हुने पनौती क्षेत्रको संकटा जात्रा सम्पन्न भएको छ । पनौती नगर क्षेत्रका विभिन्न मठ मन्दिरको परिक्रमा पछि संकटा मन्दिरमा नित्य पूजा सहित बलि दिएको प्रसाद वितरण पछि जात्रा समापन भएको हो ।

पनौतीका प्रधानाङ्ग परिवारले सञ्चालन गरिरहेको जात्रा लामो समय देखि सञ्चालन हुन सकेको थिएन । स्थानीय युवाहरुको सक्रियतामा २०६७ सालमा सुरु भएको जात्राले निरन्तरता पाइरहेको संकटा जात्रा व्यवस्थापन समिति सदस्य रोशनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

भूकम्प पछि क्षति भएको उक्त मन्दिरको पुरातत्त्व विभाग मार्फत पुनर्निर्माण गरिएको छ । मन्दिर पुनर्निर्माणका लागि स्थानीय हरिसुन्दर सैजूको मुख्य भूमिका रह्यो । अहिले मन्दिर पुनर्निर्माण सहित मन्दिर क्षेत्रलाई कम्पाउन्ड गरिएको छ  । विभिन्न क्षेत्रबाट प्राप्त सहयोगले मन्दिर परिसरमा निरन्तर सरसफाइ र पूर्वाधार निर्माणको कार्य भइरहेको छ ।

संकटा जात्रा व्यवस्थापन समितिको आयोजनामा फागु पूर्णिमाका दिन बिहानै रातो पहिरनमा सजिएका महिलाहरुले पुजाका सामाग्री सहित पनौती बजारका विभिन्न मठ मन्दिरको परिक्रमा गर्छन् । परिक्रमा पछि संकटा मन्दिरमा आएको उक्त समुहलाई नियमित पूजा गराई प्रसाद वितरण गरिनेछ । मन्दिरमा आचाजु अथार्त कर्माचार्यद्वारा पूजा हुन्छ । जात्रामा सहभागी सबैले लाइन बसेर पूजा गर्ने व्यवस्था मिलाइएको हुन्छ । यो पटक सत्यनारायण कर्माचार्य मुख्य पुजारी थिए ।

जात्रा व्यवस्थापन समितिले संकटा मन्दिरमा बलि दिन ४७ हजार रुपैयाँमा राँगो खरिद गरेको थियो । अन्य प्रसादका लागि विभिन्न स्थानबाट भौतिक, आर्थिक सहयोग प्राप्त भएको अध्यक्ष विक्रम प्रजापतिले जानकारी दिनुभयो । पनौतीका युवाहरु सम्मिलित भिन्तुना ग्रुप जात्रा व्यवस्थापन तथा आयोजनाका सह आयोजक हो ।

नगरपालिका अन्र्तगत गठित जात्रा व्यवस्थापन समिति मार्फत उक्त जात्राका लागि ३० हजार सहयोग प्राप्त हुनेछ । जबकि सम्पूर्ण जात्रा समापनका लागि डेड लाख रुपैयाँ खर्च हुने आयोजक समितिका संयोजक विक्रम प्रजापतिले बताउनु भयो ।

बलि पछिको प्रसाद वितरणको क्रममा १ सय रुपैयाँ नगद संकलन गरिएको छ । जसबाट संकलित रकमले जात्रा व्यवस्थापन गरिन्छ । अहिले समितिमा जम्मा भएको करिब ७ लाख रुपैयाँको ब्याज जात्रा सञ्चालन समितिको मुख्य श्रोत हो ।

पनौती क्षेत्रका विभिन्न जात्राहरु मध्ये संकटा जात्रा पनि प्रमुख जात्राका रुपमा रहेको स्थानीय रोशनकुमार श्रेष्ठले बताउनु भयो ।